घोषित मितिमै निर्वाचनका लागि दुई अभियान



वीरेन्द्रनगर ।

सद्भाव प्रवद्र्धन र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न दबाबस्वरुप मानव अधिकार तथा शान्ति समाजले दुईवटा अभियान प्रक्षेपण गरेको छ । पुस २५ गतेदेखि सद्भाव प्रवद्र्धनको आग्रहसहित शान्ति समाजका जिल्ला शाखाहरूले प्रदर्शन प्रारम्भ गरेका छन् । ‘शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सद्भाव हाम्रो जीवनधारा र सहिष्णुता हाम्रो स्वाभिमान’ भन्दै पुस २५ गते समाजको अछाम र सल्यान शाखाले प्रदर्शन गरेका हुन् ।

यस्तै पुस २६ गते समाजको काठमाडौँ, रुपन्देही र पाल्पालगायत शाखाले प्रदर्शन गरेका छन् । समाजका केन्द्रीय महासचिव प्रकाश शाहीका अनुसार प्रदर्शनमा समाजलाई तोड्न होइन, जोड्नका लागि योगदान गरौँ र समाज रुपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ ।

‘समाजमा अराजकता होइन, हिंसा र घृणा खारेज गरौँ । अहिंसा, शान्ति र सद्भाव प्रवद्र्धन गरी दिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध कायम राखौँ,’ उनले भने, ‘स्थायी शान्तिको आधार नै सद्भावसहित घृणा र प्रतिशोधमुक्त सामाजिक सञ्जाल प्रयोगमा जोड दिन जरुरी छ।’

उनका अनुसार सामाजिक सञ्जाललगायत सूचना प्रविधिको विवेकसम्मत प्रयोग गरौँ लगायतका नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएका थिए । यसैगरी मानव अधिकार तथा शान्ति समाजले ३० जिल्लामा ‘शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता’ विषयक नागरिक संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।

पुस २९ गते चितवनबाट सुरु हुने कार्यक्रममा प्रमुख वक्ता समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेललगायत नागरिक अगुवाहरूसहित राजनीतिक समाज, नागरिक समाज, बुद्धिजीवीहरूको सहभागिता रहने शान्ति समाजले जनाएके छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार