मुस्तफिजुरलाई आईपीएलमा फर्काउने प्रस्ताव बंगलादेशद्वारा अस्वीकार



काठमाडौँ ।

भारतीय क्रिकेट बोर्डले बंगलादेशका पेस बलर मुस्तफिजुर रहमानलाई आईपीएलमा फर्काउन गरेको प्रस्ताव बंगलादेश क्रिकेट बोर्डले अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । बंगलादेशी समाचार संस्था बीडी क्रिकटाइममा प्रकाशित एक रिपोर्टअनुसार मुस्तफिजुरलाई आईपीएलबाट हटाइएपछि भारतले उनलाई फेरि आईपीएलमा सहभागी गराउने प्रस्ताव गरेको थियो ।

भारतले मुस्तफिजुरलाई आईपीएलमा पुनः समावेश गर्ने शर्तमा बंगलादेशले आईसीसी टी–२० विश्वकपका खेल भारतमै खेल्न सहमति जनाओस् भन्ने प्रस्ताव राखेको थियो । तर बंगलादेश क्रिकेट बोर्डले उक्त प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गरेको बताइएको छ । बंगलादेश बोर्डले कुनै पनि हालतमा बंगलादेशी टोली भारतमा विश्वकप खेल्न नजाने अडान दोहो¥याएको छ ।

बोर्डका अनुसार, यदि एक खेलाडीको सुरक्षाको ग्यारेन्टी दिन नसक्ने हो भने पूरै टोली पठाउने प्रश्न नै उठ्दैन । मुस्तफिजुरलाई आईपीएलको मिनी अक्सनमा कोलकाता नाइट राइडर्सले ९ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो । तर त्यसपछि बीसीसीआईले कुनै स्पष्ट कारण नदिई उनलाई रिलिज गर्न निर्देशन दिएको थियो । यसपछि कोलकाताले मुस्तफिजुरसँग सम्बन्धित सबै प्रचार सामग्री हटाएको थियो ।

यस घटनापछि बंगलादेशले आफ्ना विश्वकप खेलहरू श्रीलंकामा सार्न औपचारिक अनुरोधसमेत गरेको छ । बीसीबीका एक वरिष्ठ अधिकारीले भारतको कुरा मान्नु भनेको एकपटक इनिङ डिक्लेयर गरिसकेपछि फेरि ब्याटिङ गर्न गएजस्तै हुने भएकाले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन् । बंगलादेशको कडा अडानका कारण भारतले पछिल्ला दिनमा मुस्तफिजुरलाई आईपीएलमा फर्काउने प्रयास गरे पनि सहमति हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार