काठमाडौँ ।
आइसिसी वुमन्स टी–२० विश्व छनोटअघि तीन देशसँग तयारी सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा नेपाललाई अमेरिकाले ८ विकेटले हरायो । नेपालले दिएको १५४ रनको लक्ष्य अमेरिकाले २ विकेटको क्षतिमा पूरा ग¥यो । पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान इन्दू बर्माले नटआउट ३४ रन बनाउँदा ओपनिङ ब्याटर सम्झना खड्काले अर्धशतक प्रहार गरेकी थिइन् । अब शुक्रबार स्कटल्यान्ड र आइतबार जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका दुई मैदानमा पुस २८ देखि हुने विश्वकपमा छनोटका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ । इन्दू बर्माको कप्तानी रहेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ ।
टी–२० विश्वकपको विश्व छनोटका खेल नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछन् । खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ । समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग वाम अप खेल खेल्नेछ । छनोटमा १० देश सहभागी हुनेछन् । तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), पूजा महतो (उपकप्तान, रुबीना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय रहेका छन् । विश्वकप छनोटमा नेपालको खेलहरू नेपाल भर्सेस थाइल्यान्डबीचको खेल माघ ४ गते माथिल्लो मुलपानी मैदानमा, नेपाल भर्सेस नेदरल्यान्ड्सबीचको खेल माघ ८ गते माथिल्लो मुलपानी मैदानमा, नेपाल भर्सेस जिम्बावेको खेल माघ १० गते त्रिवि मैदानमा र नेपाल भर्सेस स्कटल्यान्डको खेल माघ १२ गते त्रिवि मैदानमा हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्