काँग्रेस–एमाले गठबन्धनसँग नेकपालाई सकस



सुर्खेत ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा काँग्रेस–एमाले गठबन्धनसँग नेकपालाई सकस पर्ने भएको छ । कर्णाली प्रदेशमा एक महिला र एक अन्य कलस्टरमा निर्वाचन हुँदैछ । सोहीअनुसार बुधबार मनोनयन दर्तासमेत भइसकेको छ । कर्णालीबाट दुई पदका लागि हुन लागेको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ ।

सोही गठबनधनका कारण एक्लै चुनावी मैदानमा होमिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई सकस पर्ने देखिन्छ । गठबन्धनतर्फ अन्य कलस्टरबाट काँग्रेस नेता ललितजंग शाही र महिला क्लस्टरतर्फ एमाले नेता मिनासिंह रखाल उम्मेदवार बनेका छन् । जुम्लाका काँग्रेस नेता शाही पार्टीको प्रदेश सभापति हुन् भने रखाल एमाले दैलेखको संयोजक हुन् ।

इता नेकपाले भने एकजना पूर्वमाओवादी केन्द्र र एकजना पूर्वएकीकृत समाजवादी धारका नेताहरुलाई उम्मेदवार बनाएको छ । नेकपाले अन्य कलस्टरतर्फ पूर्वमाओवादी धारका रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र महिलातर्फ पूर्वसमाजवादी धारकी डोल्पाकी अञ्जु महतारा (शाही)लाई उम्मेदवार बनाएको हो । चुनाव हुन लागेको अन्य कलस्टर साविक माओवादीको हो भने महिला कलस्टरतर्फको सिट एमालेको हो ।

माओवादीका मायाप्रसाद शर्मा तत्कालीन नेकपा हुँदा निर्वाचित भएका थिए भने एमालेकी सुमित्रा बिसी सदस्य थिइन् । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कूल मतदाता संख्या छ । प्रदेशसभामा ४० सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छन् । प्रदेशसभा सदस्यको मतभार संख्या ५३ हो भने स्थानीय तहका प्रमुख, उपप्रमुखको १९ हो ।

यस हिसाबले प्रदेशसभा सदस्यहरुको कूल मतभार संख्या दुई हजार १२० हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको मतभार संख्या तीन हजार दुई हुन्छ । दुवै तहका मतदाताहरुको कूल मतभार संख्या पाँच हजार १२२ छ । यदी दलहरु एक्लाएक्लै लडेको खण्डमा काँग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा हुन्थ्यो । तर एमाले–काँग्रेस गठबन्धन हुँदा नेकपालाई गाह्रो परेको छ । ४० सदस्यीय प्रदेशसभामा काँग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ सांसद छन् ।

काँग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार काँग्रेसको कूल मतभार संख्या एक हजार ८९७ छ भने एमालेको प्रदेश र स्थानीय तहको गरी कूल मतभार संख्या एक हजार २१४ छ । तर नेकपाको कूल मतभार संख्या भने एक हजार ९३९ छ । यो हिसाबले एक्लाएक्लै चुनाव लडेको खण्डमा नेकपाले निर्वाचन हुन लागेका दुवै पद सुरक्षित गर्न सक्ने सम्भावना बलियो थियो ।

तर काँग्रेस–एमालेको गठबन्धनले उनीहरुको मतभार जोड्दा नेकपाको भन्दा स्वतः दोब्बर हुन पुगेको छ । यस्तै राप्रपा सांसद सन्तोषी शाही कुन दललाई भोट हाल्ने भन्नेमा खुलेकी छैनन् । दुवैजना सांसदको मत पाउँदा पनि नेकपाका उम्मेदवारले दुई सिट सुरक्षित गर्न हम्मेहम्मे परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार