विधानअनुसार निर्वाचन गराउन एन्फालाई राखेपको पत्र



काठमाडौँ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आफ्नो विधान र प्रचलित कानुनअनुसार आवश्यक संशोधन गरेर मात्र साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ । एन्फाले २०८२ पुस १६ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार साधारणसभा (अर्डिनरी कंग्रेस)का लागि स्वीकृति र प्रतिनिधि उपलब्ध गराइदिन राखेपसँग अनुरोध गरेको थियो ।

सोही अनुरोधका आधारमा युवा तथा खेलकुद मन्त्रालयको पत्र र राष्ट्रिय खेलकुद विकास ऐन तथा नियमावलीअनुसार आवश्यक व्यवस्था गर्न राखेपले निर्देशन दिएको हो । राखेपले एन्फाको विधानमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार परिभाषा, प्रस्तावना, संरचना र निर्वाचनसम्बन्धी व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।

प्रत्येक चार वर्षमा लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन हुनुपर्ने, आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र साधारणसभा गर्नुपर्ने र निर्वाचनका लागि परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था विधानमै समेट्नुपर्ने उल्लेख छ ।

यस्तै, प्रदेश तथा जिल्ला संघको संरचना ऐनअनुसार पुनः व्यवस्थित गरी तहगत निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रदेशका नाम स्पष्ट उल्लेख गर्नुपर्ने तथा प्रचलित कानुनअनुसार आवश्यक सबै संशोधन गर्नुपर्ने राखेपको पत्रमा भनिएको छ । राखेपले एन्फालाई स्वीकृत विधान र प्रचलित नियमअनुसार मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । एन्फाले भने राखेपबाट स्वीकृति आउनुभन्दा अगाडि नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार