कोेहलपुर : बाँकेको कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा १३औँ ‘फाउण्डर फुटबल कप’ प्रतियोगिता सुरु भएको छ । सोमबार विद्यालयका सञ्चालक अध्यक्ष केशरबहादुर आलेले एक कार्यक्रमकाबीच बल हस्तान्तरण गरेर प्रतियोगिता सुरु भएको हो ।
हरेक वर्ष खेलकुद सप्ताहको रूपमा विगत लामो समयदेखि ‘फाउण्डर फुटबल कप’ प्रतियोगिता सञ्चालन हुँदै आएको सञ्चालक अध्यक्ष आलेले बताए । पठनपाठन सँगसँगै खेलकुद पनि विद्यार्थीहरू स्वस्थ रहनका लागि आवश्यक पर्ने महत्वपूर्ण विषय रहेको उनले बताए ।
‘फाउण्डर फुटबल कप’ खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने विश्वास लिएको उनले बताए । खेलकुदले विद्यार्थीलाई स्वस्थ राख्नुका साथै अनुशासित बनाउने उनको भनाइ थियो । खेलकुदको माध्यमबाट विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरसमेत भएको उनी बताउँछन् ।
‘साना कलिला बालबालिकाहरूमा विभिन्न प्रतिभाहरू हुन सक्छन्,’ उनले भने, ‘त्यसैले ‘फाउण्डर फुटबल कप’ प्रतियोगिताले पहिचान गर्न र प्रस्फुटन गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’ विद्यालयमा रहेका चारवटा सदनका छात्रा र छात्रहरूबीच अन्तरसदनात्मक फुटबल प्रतियोगिता हुने प्रतियोगिता संयोजक भरतराज आलेले जानकारी दिए । २०६८ सालदेखि विद्यालयका संस्थापकहरूको आफ्नै छुट्टै कोषबाट प्रतियोगिता सञ्चालन हुँदै आइरहेको उनले बताए ।
खेल प्रतियोगितामा प्रथम हुनेलाई नगद २१ हजार, द्वितीयलाई ११ हजार नगद पुरस्कार रहेको छ । साथै संस्थापक, शिक्षक तथा कर्मचारीहरूबीच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिता विजेतालाई १० हजार नगद पुरस्कार दिइने बताइएको छ । प्रतियोगिता विद्यालयको खेलमैदानमा २५ गतेसम्म सञ्चालन हुने भएको छ ।









प्रतिक्रिया दिनुहोस्