टी–२० विश्वकपको ट्रफी नेपालमा



काठमाडौँ :आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ । सोमबार आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्तरूपमा ट्रफी प्रदर्शनी गरेका थिए ।

राष्ट्रपति पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे । ‘नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ’, राष्ट्रपति पौडेलले भने ।

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ थियो । नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे । ‘नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे । क्यानका अनुसार पुस २१ देखि २३ गतेसम्म नेपाल ट्रफी टुर हुनेछ । भारत र श्रीलंकामा माघ २४ देखि सुरु हुने विश्वकपअघि भारत र श्रीलंकासहित कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी–२० विश्वकपको ट्रफी लैजाने कार्यक्रम छ । टुरका दौरान लाखौँ फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ ।

टी–२० विश्वकपको दशौँ संस्करणमा २० टिमले भाग लिँदैछन् । २९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ । प्रतियोगिताका मैदानहरूम नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डन्स (कोलकाता), आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिङ्गालीज स्पोट्र्स क्लब क्रिकेट ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) रहेका छन् ।

आइसिसी टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ । अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५)मा हुनेछ । तेस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३ र तेस्रो खेल बंगलादेशसँग फागुन ५ मा हुनेछ । नेपालका सबै खेलाडी मुम्बईको वाङखाडे रंगशालामा हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार