असईसहित पाँच प्रहरीविरुद्ध किटानी जाहेरी



मिसन संवाददाता,सुर्खेत
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँका ३४ वर्षीय जुन रोकाया बेपत्ता प्रकरणमा पाँचजना प्रहरीविरुद्ध व्यक्ति बेपत्ता कसुरमा किटानी जाहेरी दर्ता गरिएको छ । इलाका प्रहरी कार्यालय खदाङका चौकी इन्चार्ज असई हेमराज कार्कीसहित पाँचजना प्रहरीविरुद्ध पुस २१ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा व्यक्ति बेपत्ता कसुरमा किटानी जाहेरी दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असई कार्कीसँगै प्रहरी जवान लालबहादुर घर्ती, भगिरथ जैसी, अशोक साउद र घुमुवा प्रहरी नरेन्द्र खड्काविरुद्ध जाहेरी गरिएको छ । बेपत्ता जुन रोकायाकी पत्नी धनमती रोकायाको जाहेरीपछि प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।जाहेरी दर्तासँगै पुस १९ गतेदेखि स्थानीयले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन् भने डोल्पामा सवारीसाधन पुनः सञ्चालनमा आएका छन् ।

प्रहरीका अनुसार चेकिङका क्रममा रोकाया आत्तिएर भेरी नदीमा हामफालेका थिए । तर स्थानीयवासीले प्रहरीकै कारण उनी बेपत्ता भएको आरोप लगाउँदै आएका छन् । विगत चार दिनदेखि रोकायाको खोजीकार्य जारी छ । सोही घटनाको प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्ती मगरको नेतृत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिले घटनास्थल पुगेर पुस २१ गतेदेखि प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार