सडकमै सवारी पार्किङ



कालीकोट ।

व्यवस्थित बसपार्क नहुँदा कालीकोट सदरमुकाम मान्म बजारका सडकमा नै सवारीसाधन पार्किङ हुने गरेका छन् । साँघुरा सडकमा सवारीसाधन पार्किङ गरिएका कारण दुर्घटनाको जोखिम बढेको छ । सुर्खेत–जुम्ला सडकखण्डको मान्म बजारमा व्यवस्थित बसपार्कको अभावमा जथाभावी सवारीसाधन पार्किङ हुँदै आएकाले दुर्घटनाको खतरा बढ्नुका साथै बजार क्षेत्रको सौन्दर्यमा समेत ह्रास आएको स्थानीयवासीको भनाइ छ ।

जिल्ला प्रशासनले जिल्लाको बसपार्क पूर्वीक्षेत्र ताडीमा तोकेको र यात्रा गर्ने यात्रु पश्चिमी भेगवाट यात्रा गर्ने र बसपार्क जान टाढा पर्ने भएकाले सडकमै सवारीसाधनहरू रोक्ने गरिएको यातायात व्यवसायी खगेन्द्र खड्काले बताए । ‘सबैको लागि उपयुक्त हुने ठाउँमा बसपार्क नहुँदा सडकमै पार्किङ हुने गरेका छन् । सदरमुकाम भौगोलिक रुपमा साँघुरो छ भने तोकिएको बसपार्क टाढा छ,’ उनले भने, ‘यात्रुहरू तोकिएको बसपार्कमा नजाने भएका कारण हामीले बजारका कहिले प्रतिमाचोक, पुरानो बसपार्क, कहिले रिङरोडको जिरोपोइन्ट, लगायतका ठाउँबाट टिकट काटेर पठाउन बाध्य हुन परेको छ ।’

पुरानो बसपार्कदेखि जिरो पोइन्ट हुँदै मान्म बजारमा सवारीसाधन राखिँदा पैदलयात्रुलाई समेत आवतजावतमा असहज हुने गरेको गुनासोे छ । सडकमा जथाभावी राखिएका सवारीसाधन, जिवजन्तु र तीव्र गतिका मोटरसाइकलका कारण कतिबेला दुर्घटनामा परिने हो भन्ने चिन्ता लाग्ने गरेको र नगरपालिकाले पनि यातायात व्यवस्थापनको काम गर्नुपर्नेमा चासो नदेखाएको अर्का यातायात व्यवसायी दमन शाहीले बताए ।

जिल्ला प्रशासनमा पटक पटक हुने समन्वयमा भएको बैठकले सडकमा गाडी पार्किङ नगर्ने सहमति भए पनि कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुवलले जानकारी दिए । उनले भने, ‘जिल्लामा यातायातका साधनको चाप दिनदिनै बढिरहँदा बसपार्कबाट मात्र यात्रा गर्नुपर्ने हो । भौगोलिक हिसाबले कठिन भए पनि सवारी दुर्घटना कम हुने गरेका छन् ।’

साँघुरा सडकमा अवस्थित गाडी पार्किङको समस्या समाधान गर्न पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीले बताए । ‘घर निर्माणका सामग्री सडकमै थुपार्ने र गाडी सडकमै पार्किङ गर्नाले सदरमुकामका सडकमा दुर्घटनाका जोखिम बढिरहेको छ,’ उनले भने, ‘म नै ट्राफिक हुँ भन्ने आफूले सोचेर सवारी चलाउँदा दुर्घटना कम गर्न सकिन्छ ।’ कालीकोट जिल्लामा आर्थिक वर्ष २०८०–०८१ मा ३६ वटा सवारी दुर्घटना, आर्थिक वर्ष २०८१–०८२ मा ३६ सवारी दुर्घटना र २०८२–०८३ मा घटेर २२ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार