वैशाख अन्तिममा काँग्रेस महाधिवेशन



नेपाली काँग्रेसको १५औँ महाधिवेशन सरेर २०८३ सालको वैशाख अन्तिममा हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

काठमाडौँ ।

यसै महिनाको अन्तिममा मिति तोकिएको नेपाली काँग्रेसको १५औँ महाधिवेशन सरेर २०८३ सालको वैशाख अन्तिममा हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावसहित काँग्रेसले केन्द्रीय समितिसहित तल्ला तहका सबै समितिको म्याद सोही मितिसम्म थप गर्ने निर्णयसमेत गरेको थियो ।

कार्यसम्पादन समितिले पारित गरेको कार्यतालिकाअनुसार महाधिवेशनको नयाँ मिति २०८३ सालको वैशाख २८ देखि ३१ सम्म काठमाडौँमा हुनेछ । यसअघि यसै पुस अन्तिममा महाधिवेशन गर्ने कार्यतालिका काँग्रेसले पारित गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, ‘संशोधित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिले पास गरेको छ ।’ वैशाखमा महाधिवेशनका लागि काँग्रेसले गाउँ नगर वडा अधिवेशन २०८२ चैत २१ गते, गाउँ नगर अधिवेशन २०८२ चैत २५ गते गर्ने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार त्यसैगरी प्रदेशसभा क्षेत्रीय अधिवेशन २०८२ चैत २८ गते, एकमात्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन २०८३ वैशाख ५ गते गर्ने निर्णय भएको छ । प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन २०८३ वैशाख २८, २९, ३० र ३१ गते गर्ने निर्णय भएको काँग्रेसका प्रवक्ता महतले बताएका छन् ।

यसमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् । महामन्त्री थापाले भने, ‘बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भयो । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो। हामी ४–५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो ।’ बैठकका अनुसार थापा, शर्मा, नेता अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सु र उमा रेग्मीले फरक मत राखेका हुन् ।

उनीहरूले बैठकमा नियमित तालिका ल्याए पनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् । थापाले यसबारे प्रष्ट पार्दै भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र अधिवेशन बोलाउनु पर्नेछ । पुसको २८–२९ तीन महिनाको अन्तिम म्याद हो ।’ काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।

बैठकमा फरक मत राखेको र विधानको व्यवस्था अनुसार केन्द्रीय कमिटिले विषेश महाधिवेशन आव्हान नगरे पार्टीको केन्द्रको हैसियतले महामन्त्रीले पुस महिनामै महाधिवेशन आयोजना गर्ने भन्दै थापाले त्यसका लागि देशभरका कार्यकर्तालाई काठमाडौँ आउन उनले आग्रहसमेत गरेका छन् ।

मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यो स्थगित हुने भनिएको तर नियमित नभए उक्त माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु हुने थापाको भनाइ छ ।
उनले अब विशेष महाधिवेशनबारे निर्णय हुने पनि बताए । ‘बैठकमा फरक मत लेख्यौँ, घर गयौँ सुत्यौँ भन्ने होइन ।

अझै एक दुई दिन हेर्छौँ । सभापतिले, कार्यवाहकले भोलिनै बैठक राखेर विधानको धाराअनुसार विशेष बोलाउनु भयो भने उत्तम हुन्छ,’ उनले भने, ‘हैन थप्यौँ सबै घर जाऔं भन्नुभयो भने यो मान्दैनौँ । यस्तो अवस्थामा मैले विधान १७ को २ को पालना मैले गर्छु, गराउँछु ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार