निर्वाचन आयोगले यस पटकको निर्वाचनलाई आर्थिक रूपमा कम खर्चिलो बनाउन ‘मितव्ययिता’को नीति लिएको छ । मतपेटिका र कागजको मौज्दात पर्याप्त रहेकाले नयाँ खरिद गर्नु नपर्ने आयोगले बताएको छ । आयोगका अनुसार विगतका निर्वाचनमा प्रयोग भएका स्वस्तिक छाप, रबर म्याट, मसी र स्ट्याम्प प्याड जस्ता सामग्रीहरूलाई नै पुनः प्रयोग गरिनेछ । निर्वाचनमा प्रयोग हुने कूल ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश तथा जिल्लास्तरबाटै खरिद गरिनेछ भने १४ प्रकारका मुख्य सामग्रीहरू मात्र केन्द्रबाट खरिद÷छपाइको प्रक्रियामा रहेका छन् ।
काठमाडौँ ।
निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी तीव्र पारेको छ । आयोगका अनुसार निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भई काम सुरु भइसकेको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची बुझाइ सकेका छन् ।
आयोगले यस पटकको निर्वाचनलाई आर्थिक रूपमा कम खर्चिलो बनाउन ‘मितव्ययिता’को नीति लिएको छ । मतपेटिका र कागजको मौज्दात पर्याप्त रहेकाले नयाँ खरिद गर्नु नपर्ने आयोगले बताएको छ । आयोगका अनुसार विगतका निर्वाचनमा प्रयोग भएका स्वस्तिक छाप, रबर म्याट, मसी र स्ट्याम्प प्याड जस्ता सामग्रीहरूलाई नै पुनः प्रयोग गरिनेछ । निर्वाचनमा प्रयोग हुने कूल ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश तथा जिल्लास्तरबाटै खरिद गरिनेछ भने १४ प्रकारका मुख्य सामग्रीहरू मात्र केन्द्रबाट खरिद÷छपाइको प्रक्रियामा रहेका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले सरोकारवालाहरूसँगको छलफललाई सघन बनाएको आयोगले बताएको छ । त्यस्तै उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भइसकेको छ । प्रधानमन्त्रीको उपस्थितिमा राजनीतिक दल, नागरिक समाज र युवा समूहहरूसँग निर्वाचनको वातावरण बनाउन छलफल भएको छ । साथै, आयोगले पूर्वनिर्वाचन पदाधिकारीहरू र सञ्चार क्षेत्रका नियामक निकायहरूसँग समेत सुझाव लिएको छ ।
आयोगले निर्वाचनसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउन ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । यस केन्द्रमा मतदाता शिक्षा, प्रेस अफिस र सूचनाको शुद्धताका लागि विशेषज्ञ कर्मचारीहरू खटाइएको छ । अहिले आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि निर्देशिका तयार गर्ने र मुख्य निर्वाचन अधिकृतहरूको नामावली संकलन गर्ने कार्यलाई अन्तिम चरणमा पु¥याएको बताएको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ। आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बन्दसूची पेस गर्ने दलले समावेशीको समूह (क्लष्टर) मिलाए÷नमिलाएकोलगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए । उनले बुधबार १२ दलका प्रतिनिधिको रोहबारमा छलफल भएको बताउँदै बिहीबार पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिए ।
आयोगमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन् । सूचीअनुसार औसतप्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दल १० रहेका आयोगले जनाएको छ ।
आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएका थिए पनि बन्दसूची पेस गर्ने ६४ दल मात्रै भएका छन् । आयोगले यही पुस २१ गतेदेखि २७ गतेसम्म पेस भएको विवरण मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिए ।
बाँकेमा चार सय मतदान केन्द्र कायम
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा २० वटा नयाँ मतदान केन्द्र कायम भएका छन् । यसअघि ३८० मतदान केन्द्र कायम भएकामा नयाँ २० मतदान केन्द्र थप भएपछि मतदान केन्द्र ४०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जिल्लामा कूल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएको जानकारी दिँदै त्यसमध्ये १५ हजार १५० नयाँ मतदाता रहेका बताए ।
उनका अनुसार जिल्लामा १३९ मतदानस्थल रहेका छन् । तीमध्ये एउटा मतदानस्थल नयाँ रहेको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरोरिएको नाम हटाएपछि नयाँ मतदाताको सङ्ख्या केही घटेको उल्लेख गर्दै अस्थायी मतदातको नामावली संकलनलाई तीव्र बनाइएको जानकारी दिए । छ हजारको हाराहारीमा बाँकेमा अस्थायी मतदाता रहेको अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्