हुम्ला ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा मतदाता सङ्ख्या ३३ हजार ९०० कायम गरिएको छ । यसअघि ३४ हजार ५०२ मतदाताले निर्वाचन प्रयोजनका लागि आफ्नो नाम दर्ता गराएपनि उमेर नपुगेका कारण केही सङ्ख्या घटेकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत भीमबहादुर रोकायाले आगामी निर्वाचनका लागि जिल्लाबाट ३३ हजार ९०० मतदाताले मतदान गर्न पाउने गरि सङ्ख्या कायम भएको जानकारी दिए । उनका अनुसार गत मंसिर ५ गतेसम्म निर्वाचन कार्यालय र अन्यत्र आफ्नो नाम दर्ता गराउनेको सङ्ख्या ३४ हजार ५०२ कायम भएपनि फागुन २० गतेसम्म १८ वर्ष पुगेको मतदाता सङ्ख्या ३३ हजार ९०० मात्रै रहेको छ ।
‘आफ्नो नाम दर्ता गराएर पनि फागुन २० गतेसम्म १८ वर्ष उमेर नपुगेका ६०२ जना भने मतदानबाट वञ्चित हुनेछन्,’ उनले भने, ‘यसमा अधिकांश जेनजी समूहका मतदाता छन् । तर गाउँपालिका र महिला, पुरुषअन्तर्गत मतदाता सङ्ख्या यकिन गर्न पुस १९ गतेसम्म कुर्नुपर्छ ।’ निर्वाचनका लागि जिल्लामा ६० वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र कायम भएका छन् ।
२०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदानस्थल र ६० वटा मतदान केन्द्र रहेका थिए । त्यस्तै जिल्ला सुरक्षा समितिले २७ वटा मतदानस्थलहरू अतिसंवेदनशील ठहर गरिसकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै ती मतदानस्थललाई अतिसंवेदनशील घोषणा गरेको हो ।
समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० वटा सामान्य मतदान केन्द्र रहेका छन् । यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार सुरक्षा व्यवस्थाको समेत तयारी गरिएको छ । यसअघि २०७९ सालको निर्वाचनमा कूल मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्