
नेपालगन्ज ।
क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता ट्रफी उत्सव यात्रा सुरु भएको छ । लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गरी सहभागी टीम लुम्बिनी लायन्सले प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेपछि उक्त ट्रफीलाई लुम्बिनी प्रदेशभर प्रदर्शन गरिने कार्यक्रम नेपालगन्जबाट सुरु गरिएको हो ।
नेपालगन्जस्थित प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरबाट सुरुवात गरिएको ट्रफी टुरका क्रममा क्रिकेट समर्थकहरूको ठूलो सहभागिता रहेको थियो । विजेता टिम लुम्बिनी लायन्सका प्रतिनिधिहरूसहितको उपस्थितमा शनिबार बिहान बागेश्वरी मन्दिरमा पूजाअर्चना गरिएको थियो ।
बागेश्वरी मन्दिरको परिक्रमा गरी सुरु गरिएको यात्रा नेपालगन्ज नगर परिक्रमा पश्चात स्थानीय मंगल प्रसाद मावि प्रांगणमा समेत राखिएको थियो।
विद्यालयमा ट्रफी टोलीलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले स्वागत गर्दै नेपालगन्जमा पनि क्रिकेटको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि सक्दो सहयोग गर्ने बताएका थिए । बाँकेपछि बर्दियातर्फ लगिएको ट्रफी उत्सव यात्रा दाङ, रूकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर समापन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
पुस ६ गते दाङको तुलसीपुर–घोराहीमा टुर आयोजना हुनेछ । पुस ७ गते पूर्वी रूकुमको रूकुमकोट–खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते प्युठानको बिजुवार बरुङ्लादेखि चकचके दरभाङ र दाङको भालुबाङसम्म टुर रहने जनाइएको छ ।
साथै, पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ ।
लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ । एनपीएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो ।
लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । एनपीएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो ।









प्रतिक्रिया दिनुहोस्