काठमाडौँ ।
नेकपा (एमाले)ले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि आइतबार बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको थियो । ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको थियो । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका थिए । बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए । पोखरेलले यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेका कतिपय कुराहरू अहिले तोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठकमा उनले पदाधिकारी सङ्ख्या बढाइएकोमा आपत्ति जनाएका थिए । ‘के हाम्रा विधानहरू अस्थायी हुन् । जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशनअगाडि सङ्ख्या घटाऔँ भन्ने तपाईँहरू नै होइन ? वैधानिक विषयअनुसार चलौँ, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौँ । दाँयाबाँया नगरौँ,’ उनले भने । बैठकमा बोल्दै अध्यक्ष ओलीले आफू १८ घण्टा खटेर काम गर्ने अवस्थामा अहिले पनि रहेको भन्दै आफ्नो नेतृत्वमा सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव समेत राखेका थिए ।
ओलीले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने समेत प्रष्ट पारे । ‘कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने फेरि साथीहरूले ईश्वर कमरेड डोको फिर्ता लैजाऊँ है, तपाईँलाई पनि फाल्नुपर्छ भन्छन् । मेरो तर्फबाट घच्चमच्च भएको छ भने सरी ।’ अध्यक्ष ओलीले बैठकमा भने । भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो।
विधान संशोधनको निर्णयअनुसार अब नेकपा (एमाले)को ११औँ महाधिवेशनमार्फत ३०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । एमालेले निर्माण गरेको संरचना अनुसार ३०१ जनाबाटै १९ पदाधिकारी पनि निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुनेछन् । अब एमालेमा वरिष्ठ उपाध्यक्ष पद हुने छैन । त्यस्तै प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट नौ जनाका दरले ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
जसमा खुलातर्फ ५जना, महिला ३ र युवा एक हुनेछन् । त्यस्तै खुला कोटातर्फ जम्मा १२५ जना निर्वाचित हुनेछन् । त्यसमध्ये खुला ७१ (सबैले प्रतिस्पर्धा गर्न पाउने), महिला ५२ जना र युवा २ जना हुनेछन् । जनजाति क्लस्टरमा २५ जना निर्वाचित हुनेछन् । यो क्लस्टरमा खुला १५ जना, महिला ८ र युवा २ जना रहनेछन् । मधेसी क्लस्टरमा २० जना निर्वाचित हुनेछन् जसमा खुला ११, महिला ६ र युवा २ जना रहनेछन् । त्यस्तै प्रवास २, श्रमिक ३, अपाङ्गता भएका व्यक्ति १, दलित १२, थारूतर्फ ८ र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुनेछन् ।
निर्वाचन तालिका सार्वजनिक
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, २९ गते विहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि विरोध सुधारको समय तय भएको छ ।
त्यसैगरी विहान साढे ९ बजे मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोध उपर छानबिन र निर्णय र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका छ।









प्रतिक्रिया दिनुहोस्