पछिल्ला केही वर्षयता नेपालले पनि विभिन्न खेलकुदका विधाहरुमा राम्रो उपस्थिति जनाउँदै आएको छ । भलिबल, क्रिकेट तथा फुटबल जस्ता खेलकुदमा नेपालले केही वर्षयता विश्वसामु पनि आफ्नो बलियो पकड जमाउँदै गएको देखिन्छ । खेलकुदले पनि विश्वमा नेपाललाई पहिचान दिँदै गएको पाइन्छ । जुन कुरा नेपालीहरुका लागि एकदमै सराहनीय र गर्विलो विषय हो । तर पनि नेपालमा खेलकुद क्षेत्रमा ठूलै लगानीको आवश्यकता देखिन्छ । दक्ष खेलाडी उत्पादन गर्नका लागि सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउन आवश्यक छ । खेलकुदले जसरी देशलाई चिनाउँछ, जसरी देशका नागरिकले खेलकुदबाट प्राप्त प्रतिफल र सफलताले गौरवान्वित गराउँछ, त्यसैगरी खेलकुद क्षेत्रमा भविष्य र जीवनलाई बलिदान दिएर लागेका समग्र खेलाडीहरुलाई सरकारले उनीहरुको जीवन सुनिश्चित गर्न आवश्यक छ । नेपालमा खेलकुद क्षेत्रलाई अझै पनि हेय दृष्टीबाट हेर्ने गरिन्छ । समाजमा रहेका हरेक परिवारका बच्चाबच्चीलाई सानै उमेरदेखि खेलक्षेत्रमा लाग्ने वातावरण सिर्जना गर्न आवश्यक छ । हरेक परिवार, समाज, तथा सरोकारवालाहरुले विभिन्न विधाका खेलकुदमा उनीहरुलाई समावेश गर्न र खेलकुदप्रति प्रोत्साहन गर्न आवश्यक छ । हरेक विद्यालयले, हरेक स्थानीय सरकारले, हरेक प्रदेश सरकार तथा संघीय सरकारले मात्र नभएर विभिन्न संघसंस्थाहरुले पनि खेलकुद क्षेत्रमा लाग्न र खेलकुदमा पनि भविष्य छ है भनेर बुझाउन जरुरी छ ।
खेलकुदले खेलाडीको शारीरिक, मानसिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव नपारेर देशको इज्जत र गौरवसँग जोड्नु जरुरी छ । त्यसैगरी खेलाडीका आर्थिक अवस्थामा पनि टेवा पु¥याउन सरकारसहित सम्बन्धित सरोकारवालाले गम्भीर बनेर लगानी गर्न आवश्यक छ । खेलकुदका दक्ष खेलाडी उत्पादन गर्नका लागि निरन्तर र नियमित प्रतियोगिता तथा प्रतिस्पर्धा आयोजना गर्दै उनीहरुलाई प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु बनाएर कार्यान्वयन गर्न जरुरी छ । खेलमैदान, खेलसामग्री, आवश्यक तालिम लगायतका कार्यहरु निरन्तर गर्न जरुरी छ । खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार तथा प्रशिक्षणलाई प्राथमिकता दिन आवश्यक छ । पूर्वाधार निर्माणका साथै तल्लो तहसम्म खेलकुदका गतिविधि नियमित सञ्चालन गर्दै खेलाडीको क्षमता अभिवृद्धि गर्न जरुरी छ । रोजगारी नपाएर दैनिक हजारौँको संख्यामा विदेसिने नेपाली युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरेर उनीहरुलाई खेलकुदबाटै भविष्य सुनिश्चित गर्नका लागि पनि यस क्षेत्रमा लगानीको महत्वपूर्ण आवश्यकता रहन्छ । स्थानीय सरकारहरुले सडक, शिक्षा तथा स्वास्थ्यजस्ता पूर्वाधारको विकासलाई मात्रै महत्व नदिएर त्यत्तिकै रुपमा खेलकुदलाई पनि महत्व दिन आवश्यक छ ।
आमनागरिकलाई खेलकुदका बारेमा व्यापक रुपमा जानकारी गराउन पनि आवश्यक देखिन्छ । खेलकुदको महत्वका बारेमा सम्पूर्ण नागरिकले जानकारी पाएमा यस क्षेत्रमा लाग्नका लागि नयाँ नयाँ उत्पादन बढ्दै जाने सम्भावना देखिन्छ । पछिल्ला वर्षहरुमा अधिकांश नागरिकको खेलकुद क्षेत्रमा चासो बढ्दै गएको पनि देखिन्छ । खेलाडीहरुलाई संस्थागत र व्यावसायिक रुपमा खगाडि बढाउन सरकार गम्भीर बन्नुपर्छ । खेलकुदसँग आबद्ध संघसंगठनहरु पछिल्ला समयमा खेलकुदको प्रवद्र्धन गर्नुभन्दा पनि आफ्ना मान्छे भर्ना गर्ने, भ्रष्टाचार गर्ने र राजनीतिको थलो बनाउने कार्य भएको देखिन्छ । यसको परिणाम नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिन नगर्ने तथा पदक नल्याउने मात्र नभई देश र जनतालाई नै यसले दूरगामी असर पारिरहेको छ । खेलकुदले कुनै देशको इज्जत र सान मात्र नबढाएर यसले जनताको स्वास्थ्यमा सोझो प्रभाव पार्नुका साथै देशको विकास पनि खेलकुदसँग जोड्दछ । जसरी पछिल्ला समयहरुमा खेलकुदप्रति आमनागरिकको जाकरुकता तथा चासो बढको छ, त्यसैगरी सरकार र सम्बन्धित सरोकारवालाहरुले पनि यस क्षेत्रको विकासका लागि सोहीअनुसार लगानीको वातावरण तयार पार्न पनि सक्नुपर्छ । यसक्षेत्रमा लाग्ने हरेक खेलाडीको भविष्यको सुनिश्चिततासँगै आवश्यक प्रशिक्षण, पूर्वाधार, सामग्री तथा प्रोत्साहनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरी यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्