दैलेख ।
जिल्लाको भगवतीमाई गाउँपालिकामा खानेपानीको समस्या भएका तीन वडामा अब खानेपानी संकट हटेको छ । विभिन्न चार वटा खानेपानी योजना सम्पन्न भएपछि स्थानीयलार्य सहज भएको हो । भगवतीमाई १, ३ र ४ वडामा ‘एक घर एक धारा’को सुविधा पुगेको गाउँपालिकाले जनाएको छ । ती वडाका करिब १९६ घरधुरीका एक हजार १८४ स्थानीयवासी लाभान्वित भएका छन् ।
ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक एवं प्राविधि सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा यहाँ सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले ती वडामा खानेपानीको सुविधा पु¥याएको हो। भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काकाले वडावासीले अब पानी लिन धेरै टाढा जानुपर्ने बाध्यता हटेका बताए ।
कुवाका दूषित पानीका कारण बिरामी भएर स्वास्थ्यचौकी धाउनुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ । उनका अनुसार सो परियोजना र गाउँपालिकाको सहकार्यमा भक्रमुल सिस्नेरी खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएसँगै वडाका ९४ घरमा ‘एक घर एक धारा’ निर्माण भएको छ । यसबाट अति विपन्न समुदायका स्वच्छ खानेपानीको पहुँच पुगेको छ ।
परियोजनाले उपभोक्तालाई खानेपानीका मुहान दर्ता गर्नसमेत सहजीकरण गरेको थियो । निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरुले कार्यालय व्यवस्थापन, खानेपानी सुुरक्षा योजना लागू गर्नुको साथै नियमित रुपमा पानी महसुल सङ्कलन गरिहेको छन् । साथै परियोजनाले ती वडाका २४ अति विपन्न घरधुरीहरुलाई शौचालय निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सुविधाहरु निर्माण गर्नुको साथै तीन तारे विद्यालय घोषणा गर्न, गाउँपालिकाको कार्यालय र ६ वटा स्वास्थ्य संस्थाहरुमा पानीको गुणस्तर परीक्षण केन्द्र स्थापना गर्न सहयोग तथा सहजीकरण गरेको थियो ।
भगवतीमाई गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर खड्काले परियोजनाको सहयोगमा खानेपानी तथा सरसफाइ योजनाका सम्पन्न भएसँगै वडामा फोहर संकलन तथा व्यवस्थापन केन्द्र प्रयोगमा आएको बताए । उनका अनुसार विपन्न समुदायलाई खानेपानीको सुविधा पु¥याउन ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले महत्वपूर्ण सहयोग गरेको छ ।
भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष देवलोक अधिकारीले खानेपानी लिन टाढा टाढा जानुपर्ने अवस्थामा केही सुधार भएको जानकारी दिए । खानेपानी व्यवस्थापन हुँदा महिलाको समयमा बचत भएको उनको भनाइ छ । स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छताका विविध विषयहरुमा नेपाल रेडक्रसले महत्वपूर्ण सहयोग गरेको भन्दै उनले खुसी व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले सुरक्षित सुत्केरीका लागि पूर्वतयारी, पारिवारिक विपद् पूर्वतयारी र पिउने पानीको उचित व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार खानेपानी र चर्पीको उचित प्रयोगसम्बन्धी सकारात्मक व्यवहार परिवर्तनका लागि सबै वडाका घरधुरीमा ६३ जना तालिम प्राप्त स्वयंसेवकहरु परिचालन गरिएको छ ।
परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले पूर्णसरसफाइ उन्मुख वडा घोषणा गर्नको लागि वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई परिचालन गरिएको जानकारी दिए । उनका अनुसार विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका लागि ६६ स्वयंसेवकलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । भने ५८ स्यंसेवकलाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल र आधारभूत खोज तथा उद्धार तालिम प्रदान गरिएको छ ।
यस्तै २४ स्वयंसेवकलाई द्रुत प्रतिकार्य तालिम प्रदान गरिएको र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको लागि आवश्यक पर्ने विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको छ । विभिन्न विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण, वातावरण र जलवायु परिवर्तन अनुकूलन विषयहरुमा छलफल तथा अभिमुखीकरण गरिएको उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्