हरेक वर्ष नोभेम्बर २५ तारिखबाट डिसेम्बर १० तारिखसम्म विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर १६ दिनसम्म ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ मनाइने गरिन्छ । यस वर्ष बुधबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएर १६ दिने अभियानको समापन भएको छ । नेपाललगायत विश्वका अन्य देशहरुले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई विश्वव्यापी रुपमा लैंगिताका आधारमा हिंसाविरुद्ध १६ दिने अभियान भनी मनाउने गर्दछन् । महिलाविरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५)बाट सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०)का दिन यो अभियानको समापन हुने गर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न १६ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिँदै आइएको छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आउको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपनि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं. २०७५ कात्तिक २९ गनेको मन्त्रीपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँदै आइएको छ । महिलामाथि हुने हिंसाविरुद्ध व्यापाक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैंगिक हिंसाविरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैंगिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैंगिक हिंसाका विविध आयाममा रणनीति छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य हुन् । यस अभियानका बीचमा एड्स दिवस तथा विश्व मानव अधिकार दिवस लगायतका मानव अधिकारसम्बन्धी विभिन्न दिवसहरु पनि मनाइने गरिन्छ । आज अभियानको अन्तिम अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि विभिन्न सरोकारवालाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आएका छन् । हरेक वर्ष १६ दिनसम्म यो अभियान सरकारी निकाय, संघसंस्था, सरोकारवाला पक्षले औपचारिक रुपमा मनाउँदै आएका छन् । समाजमा लिंगका आधारमा महिला मात्र नभएर पुरुष तथा यौनिक तथा अल्यसंख्यक समुदाय पनि पीडित हुँदै आएको पाइन्छ । त्यति मात्र नभएर विभिन्न मानव अधिकार रक्षकहरु पनि विभिन्न कारणबाट पीडित हुँदै आएका छन् । विभिन्न कारणबाट हुने लैंगिक तथा अन्य हिंसालाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि सचेतना र जागरुकता नै मुख्य आधार हुन् ।
यसका विरुद्ध समाजलाई सचेत बनाउन र जागरुक बनाउन गाउँटोलसम्मै विभिन्न सचेतनाका कार्यक्रमहरु पु¥याउन जरुरी छ । औपचारिक रुपमा ठूला ठूला भाषण गर्ने तर घरमा पुगेपछि घरबाटै हिंसा गर्ने क्रियाकलापले समाज कहिल्यै माथि जान सक्दैन् । हरेक व्यक्तिले आफूबाटै यसको सुरुवात गर्न सके मात्र लैंगिक लगायतका अन्य हिंसाबाट पीडित हुने दर र मुद्दा घट्न सक्छ । सरकारले हिंसाविरुद्धका विभिन्न कानुन बनाए पनि कार्यान्वयन तहमा फितलो हुँदा या कार्यान्वयन नै नहुँदा पीडकले उन्मुक्ति पाउने र उल्टै प्रोत्सान पाएर झनै हिंसाका घटनाहरु घटाउन सक्छन् । कानुन निर्माण तथा कानुनको शतप्रतिशत कार्यान्वयन हुन सकेमा मात्र यस अभियानले पूर्णरुपमा सार्थकता पाउने देखिन्छ । घर, परिवार, समाज हुँदै पूरै देशभर सचेतना गराउन र गर्न जरुरी छ । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा हरेक वर्ष १० डिसेम्बरमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवसले संसारका सबै मानिसले सुरक्षाको प्रत्याभूति गरुन् र भेदभावरहित, स्वतन्त्रतापूर्ण जीवन जिउन सकुन् भन्ने मुख्य उद्देश्य बोकेको छ । नेपालको संविधानले पनि नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्वद्र्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ । आआफ्नो ठाउँबाट सबैले एकअर्काका अधिकारलाई सम्मान गरौँ र मात्र मानव अधिकारको सुनिश्चितता हुन सक्छ ।









प्रतिक्रिया दिनुहोस्