
नन्दराम जैशी । सुर्खेत ।
जिल्लाका सरोकारवाला निकायले भ्रष्टाचारी व्यक्तिहरुका कारण पछिल्लो समय समाजमा निराशा फैलिएको दाबी गरेका छन् ।
भ्रष्टाचारी नेता, कर्मचारी र अन्य व्यक्तिहरुका कारण समाजमा तीव्र निराशा फैलिएपछि त्यसको विरोधस्वरुप भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भएको उनीहरुको दाबी छ । नागरिक सरोकार संघ सुर्खेतको आयोजनामा भ्रष्टाचारविरुद्ध बजार ¥यालीपछि गरिएको कोणसभा कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस ९ डिसेम्बरका अवसरमा मंगलबार नागरिक सरोकार संघले वीरेन्द्रनगर बजारमा ¥याली गरेको हो । बजार ¥यालीमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खजुरा वीरेन्द्रनगरमा कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब ३०० विद्यार्थीको सहभागिता रहेको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक पञ्चरत्न शर्माले भ्रष्टाचार कुनै पनि समाजको विकास रोक्ने सबैभन्दा गम्भीर समस्या रहेको बताए ।
‘भ्रष्टाचार एक व्यक्तिको गलत व्यवहार मात्र होइन । सिङ्गो राष्ट्रको प्रगति, न्याय र समानताको ढोका बन्द पार्ने अपराध हो,’ उनले भने, ‘भ्रष्टाचार बढेपछि योग्यतालाई ठाउँ नदिई चाकडी, पहुँच र पैसाले शासन गर्न थाल्छ । यस्तो अवस्था रहँदा समाज कमजोर बन्छ । अनी प्रणालीप्रति जनताले भरोसा गुमाउँछन् र विकासका योजना कागजमै सीमित रहन्छन् ।’ नागरिक सरोकार संघका अध्यक्ष तिर्थजंग शाहीले नेपालमा भ्रष्टाचारका कारण सर्वसाधारणले पाउनुपर्ने सेवासुविधा महँगा र अपारदर्शी बन्दै गएको दाबी गरे ।
‘भ्रष्टाचारका कारण नागरिकले अधिकार प्रयोग गर्न कठिनाइ भोग्छन्, न्याय पनि अनपेक्षाकृत ढिलो वा अपूर्ण हुन्छ,’ उनले भने, ‘भ्रष्टाचारकै कारण राज्यका स्रोतहरू केही व्यक्तिको स्वार्थमा खर्चिन्छन् । यसले असमानता बढाउँछ भने गरिब अझ गरीब बन्छन् ।’ नागरिक सरोकार संघका पूर्वअध्यक्ष तथा समाजसेवी पीताम्बर ढकालले नागरिकको दृढ इच्छाशक्ति र उत्तरदायित्वपूर्ण प्रणालीले भ्रष्टाचार अन्त्य गर्न सम्भव रहेको बताए । सहभागी विद्यार्थीलाई उनले विश्वमा बढी भ्रष्टाचार हुने र कम हुने दुवै प्रकारका मुलुकहरुबारे चर्चा गरेका थिए ।
हरेक कार्यक्रममा पारदर्शिता, नागरिकको सूचनामा पहुँच, स्वतन्त्र अनुसन्धान र नेतृत्वको स्पष्ट संकल्पबिना भ्रष्टाचार नघट्ने उनको तर्क छ ।
‘हरेक तहमा नैतिक मूल्यको सम्मान, इमानदारिताको संस्कार र जिम्मेवारीको भावना विकास गर्न सकेमा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ,’ उनले भने, ‘भ्रष्टाचारविरुद्धको लडाइँ केही संस्थाको मात्र जिम्मेवारी होइन । नागरिक, पत्रकार, कर्मचारी, नेता, विद्यार्थी—सबै मिलेर लागे मात्र यो महामारीजस्तै फैलिएको समस्या समाधान गर्न सकिन्छ ।’
समाजले भ्रष्टाचारलाई स्वभाविक रूपमा नभई घृणाका साथ विरोध गर्नुपर्ने अपराधको रूपमा लिनुपर्ने ढकालको भनाइ छ । भ्रष्टाचारमुक्त राष्ट्र मात्र समृद्धि, सुशासन र समान अवसरको आधार हुने उनले बताए । इमानदार बन्ने संकल्प, गलत काम नस्वीकार्ने साहस र पारदर्शी प्रणालीको समर्थन गर्ने बानीबाट भ्रष्टाचारविरुद्धको यात्रा सुरू गर्नुपर्ने उनले धारणा राखे ।
शान्ति समाज सुर्खेतद्वारा प्रदर्शन
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले प्रदर्शन गरेको छ । प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाहीलगायत दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । प्रदर्शन कार्यक्रमका अवसरमा मानव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाहीले भ्रष्ट नेतालाई कारबाही र भ्रष्ट प्रवृत्तिलाई पूर्णरुपमा निस्तेज गर्नुपर्ने बताए । भ्रष्ट नेताकै कारण भ्रष्टचार र कुशासनबाट मुलुक ग्रसित बनेको उनको तर्क छ ।
‘सुशासनका माध्यमबाट नागरिकमा आशा जोगाउनुु सरकारकारको दायित्व हो,’ महासचिव शाहीले भने, ‘जेनजी आन्दोलनपश्चात् गठित नागरिक सरकारले भ्रष्टचारीलाई कारबाही गरी सुशासनको प्रत्याभूति गराउनुपर्छ । र समयमै चुनाव गराएर मुलुकलाई निकास दिनुनै यो सरकारको मुख्य जिम्मेवारी हो ।’ नागरिक सरकार आफ्नो जिम्मोवारीबाट बिमुख हुन नहुने उनले धारणा राखे ।
अन्तर्राष्ट्रिय भ्रष्टचार दिवसका अवसरमा भ्रष्टाचारीलाई कारबाही र सुशासनको माग गर्दै शान्ति समाजद्वारा देशभरका विभिन्न जिल्लामा प्रदर्शन गरिएको महासचिव शाहीले जानकारी दिए । प्रदर्शनमा सुशासनका लागी आर्थिक दण्डहिनता अन्त्य गर ! भ्रष्ट शीर्ष नेतालाई कारबाही खोई ? शीर्ष भ्रष्ट पात्रलाई कारबाही गर्नु सुशासनको माग ! भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो ! नयाँ सरकार पनि पुरानै मार्गमा किन ? लगायतका प्ले कार्डहरु प्रदर्शन गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्