झापा ।
जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए । उनका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो ।
धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो । बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिए । गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित रु ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।
किसानले समर्थन मूल्य पाएनन्
बेमौसमी वर्षाका कारण खेतीमा ठूलो क्षति व्यहोरेका किसान यतिबेला मूल्य नपाएर समस्यामा परेका छन् । सरकारले गत साउनमा बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाएको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रूपैयाँँ ३३ पैसा तोकेको छ ।
केही वर्षअघिसम्म किसानले धान भित्र्याउन सुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या रहेकामा पछिल्ला केही वर्षदेखि सरकारले मूल्य तोक्न थालेको छ । सरकारले समयमा धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाउने समस्या भने जस्ताकोतस्तै रहेको किसानको गुनासो छ ।
झापामा हाल किसानले मध्यम धान प्रतिक्विन्टल रु तीन हजार र मोटा धान रु दुई हजार ७५० मा बिक्री गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले भने, ‘किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन्, किसानको गुनासो आइरहेको छ ।’ भद्रपुरका किसान महरसिंह राजवंशीले अहिले प्रतिमन (४० केजी) धान रु एक हजार २०० मा किनबेच भइरहेको जानकारी दिए । ‘धानको भाउ छैन,’ उनले भने, ‘१२ सयमा कसरी बेच्नु ?’









प्रतिक्रिया दिनुहोस्