हुम्ला ।
ताँजाकोट गाउँपालिकाले घुम्ती शिविरको आयोजना गरेर धमाधम योजना सम्झौता कार्य अघि बढाएको छ । योजना सम्झौताकै लागि सेवाग्राहीलाई पालिका केन्द्र धाउनुपर्ने झण्झटबाट मुक्ति दिन यस वर्षबाट गाउँपालिकाले यो नयाँ उपाय अपनाएको प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताए । उनले भने, ‘चालू आर्थिक वर्षका लागि तर्जुमा भएका गाउँपालिका, प्रदेश र संघीय सरकारको आर्थिक सहयोगबाट निर्माण हुने सबै योजनाको सम्झौता गर्न वडास्तरमै घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत सम्झौता कार्य धमाधम भइरहेको छ ।’
जनप्रतिनिधिहरूसँग छलफलपछि कर्मचारीहरू वडास्तरमा पुगेर सबै योजनाको सम्झौता गर्ने पालिकाले जनाएको छ । घुम्ती शिविरमार्फत वडास्तरमै सेवा दिँदा सेवाग्राहीलाई सहज हुने अपेक्षा छ । यो कामका लागि शिविरमा प्रशासकीय अधिकृत, योजना प्रमुख र प्राविधिकहरू टोली खटिएको छ । उनीहरू सार्वजनिक बिदा भएपनि वडामा पुगेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।
गत पाँच दिनदेखि शिविरमार्फत वडा कार्यालयहरूमा पुगेर सम्झौता गर्ने कार्य भइरहेको हो । यसवर्ष सो गाउँपालिकामा तीनै तहका गरि ५८ वटा पूर्वाधार योजनाहरू रहेका छन् । हालसम्म ५० प्रतिशत बढी योजनाको सम्झौता गर्ने कार्य सकिएको छ भने बाँकी काम जारी छ ।
ताँजाकोट गाउँपालिकामा पाँच वटा वडाहरू रहेका छन् । हालसम्म दुई वटा वडामा योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको हो । सबैभन्दा टाढाको बस्ती मासपुर रहेको छ । उक्त बस्तीका योजना सम्झौता गर्न पनि टोली पैदल हिडेर पुग्ने तयारी छ ।
गाउँपालिका केन्द्रबाट बिहान योजना सम्झौताका लागि गएको टोली बेलुका काम सकेर पालिकामै फिर्ता हुने गरेको छ । योजना सम्झौताका लागि सबै आवश्यक कागजातहरू टोलीले बोकेर जाने र उपभोक्ता समितिसँग सिधै सम्झौता गर्ने गरिएको छ । अब गाउँपालिका योजनाको सम्झौता मात्र वडास्तरमा नगरि कामको मूल्यांकनका आधार भुक्तानीको व्यवस्था पनि यसरी स्थलगत रूपमैै गर्ने तयारीमा रहेको प्रशासकीय अधिकृत रावतले बताए ।
‘गाउँपालिका केन्द्रमा योजनाको सम्झौताको लागि सेवाग्राहीलाई बोलाउँदा समय लाग्ने, खर्च बढ्ने र सेवाग्राहीलाई दुःख पनि हुने गरेको थियो,’ उनले थपे, ‘गत वर्षसम्म फागुनमा गरिने योजनाको सम्झौता कार्य यस वर्ष मंसिर महिनामै सक्ने गाउँपालिकाको लक्ष्य छ । त्यहीअनुसार काम पनि भइरहेको छ । सेवाग्राही पनि खुसी भएका छन् ।’









प्रतिक्रिया दिनुहोस्