सिटी हल निर्माणका लागि दोस्रो चरणको काम सुरु



सुर्खेत ।

वीरेन्द्रनगरस्थित सिटी हल निर्माणको दोस्रो चरणको काम सुरु भएको छ । सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम यो वर्षभित्रै हुने भएको हो । गत वर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको छ । यो वर्ष सिट कुर्सी राख्ने काम गर्न लागिएको छ । भवन डिभिजन कार्यालय सुर्खेतले गत वर्ष आर.आर कन्ट्रक्सन सुर्खेतसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको थियो ।

कार्यालय प्रमुख कमल दर्लामी मगरका अनुसार ६३ लाख १४ हजारमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणको कार्यक्रमअन्तर्गत सिट कुर्सी राख्ने काम हुनेछ । सात सयवटा सिट कुर्सी राखिने दर्लामी मगरले जानकारी दिए । उनका अनुसार सर्वोच्च अदालतले यसअघि ठेक्का पाएको निर्माण कम्पनीलाई कामको भुक्तानी दिन अन्तरिम आदेश दिएसँगै नयाँ ठेक्का सम्झौताको बाटो खुलेको हो । २०८० चैत २० गते सम्झौता रद्द भएको निर्माण कम्पनीले गरेको कामको मूल्यांकनका आधारमा भुक्तानी दिन सर्वोच्चले भनेको थियो ।

ठेक्का रद्द र पुरानो कामको भुक्तानी दिएसँगै दोस्रो चरणमा सम्झौता गरेर काम अघि बढाइएको हो । जसमा यस वर्ष सात सयवटा कुर्सी राख्ने काम गरिनेछ । यसअघि २०७८ मा मजदुर पी.एस. जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि चार करोडमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारसम्म निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीसँग ठेक्का रद्द गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० भदौमा ठेक्का तोडेको हो । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम भने गरिसकेको छ ।

कम्पनीले करिब तीन करोड बराबरको काम गरिसकेको बताइएको छ । सिटी हल निर्माणअन्तर्गत ४५ प्रतिशत काम बाँकी छ । यो वर्ष मुख्य कामको रूपमा कुर्सी राख्ने काम गरिनेछ । अहिले सबै प्रक्रिया पूरा गरेर कुर्सी ल्याउने काम भइरहेको जनाइएको छ । पहिलो चरणको काम २३ करोड रूपैयाँको लागतमा सम्पन्न भएको कार्यालयले जनाएको छ । पहिलो चरणको काम सम्पन्न गरी भवन डिभिजन कार्यालय सुर्खेतले २०७७ फागुनमा वीरेन्द्रनगर नगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको थियो ।

नगरपालिकाको मातहतमा आइसके पनि पालिकाले त्यसको संरक्षण र व्यवस्थापनमा चासो दिएको छैन । सिटी हल निर्माण सम्पन्न नहुँदै बनेका संरचनाहरू जीर्ण बन्दै गएका छन् । बैठक कक्ष र पर्खाल निर्माण, साउन्ड बक्स, बसाइँ व्यवस्थापन लगायतका काम पूर्णरूपमा भएका छैनन् । ७८० जना अट्ने क्षमताको सभाहल, १५० व्यक्ति अट्ने दुई वटा बैठक कक्ष निर्माण भइसकेका छन् । तर, सिटी हलको डेकुरेसनको काम बाँकी छ । सभाहल, बैठक कक्षभित्र साउन्डबक्स जोड्न बाँकी छ भने आवश्यक कुर्सी व्यवस्थापन गर्नुपर्ने कार्यालयले जनाएको छ ।

सबै खालका कार्यक्रम गर्नका लागि उपयुक्त सजावटको कामसमेत बाँकी छ । तर गत भदौ गते भएको जेनजी आन्दोलनका क्रममा सिटी हलमा फेरी क्षति पुगेको छ । त्यो बेला भत्केका संरचना निर्माण गर्न ७५ लाख बजेट लाग्ने अनुमान छ । सिटी हलका विभिन्न संरचना टुटेका छन्। क्षति भएका संरचनाको पुनःनिर्माणका लागि सरकारसँग बजेट माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार