रामप्रकाश विक । जुम्ला ।
दुई आर्थिक वर्षको स्याउ बीमाको क्षतिपूर्ति रकम नपाएपछि जुम्लाका हजारौँ किसानहरू आक्रोशित भएका छन् । उनीहरूले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडविरुद्ध संगठित भएर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । स्याउ किसानले आर्थिक वर्ष २०७८–०७९ र २०७९–०८० को स्याउ बीमा क्षति दाबी दर्ता गरिसके पनि भुक्तानीमा ढिलाइ भएको हो ।
किसानहरूले आक्रोश पोख्दै आन्दोलनको घोषणासमेत गरेका छन् । जसका लागि पहल समिति गठन गरेका छन् । मुख्य असन्तुष्टि पोख्दै आएका जिल्लाको तातोपानी गाउँपालिकाका किसानहरूले पदमबहादुर डाँगीको संयोजकत्वमा १७ सदस्यीय पहल समिति गठन गरेका हुन् ।
समितिले खडेरीबाट क्षति भएका बिरुवाहरूलाई मूल्यांकनमा समावेश नगरी अत्यन्त न्यून क्षतिपूर्ति दर कायम गरिएको आरोप लगाएको छ ।
संयोजक डाँगीले प्राकृतिक प्रकोपबाट जोगिन बीमा गरेपनि भुक्तानीमा ढिलाइ गरिएकाले अब आन्दोलनबाहेक विकल्प नरहेको बताए ।समितिले तातोपानीका बीमक किसानहरूको विवरण संकलन गरी क्षतिको सही मूल्यांकनका साथ इन्स्योरेन्स कम्पनीसँग संवाद गर्ने तयारी भएको उनको भनाइ छ । उनका अनुसार यसअघि पनि किसानहरूले बीमा कम्पनीमा घेराउ र तालासमेत गरेका थिए । तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले क्षतिको मूल्यांकनमा चन्दननाथ नगरपालिकाबाहेक अन्य स्थानीय तहका किसानलाई विभेद गरिएको भन्दै चिन्ता व्यक्त गरे ।
हालसम्म जुम्लाका एक हजार ४०१ जना किसानले मात्रै भुक्तानी पाएका छन् । जिल्लामा कूल चार हजार ५१७ जना स्याउ बीमित छन् । यसमध्ये कनकासुन्दरीमा ३९९, सिंजा ५७१, हिमा ५२५, तिला ३८६, तातोपानी ६११, चन्दननाथ ६७२, गुठिचौर ५३७ र पातारासीमा ८१६ जना रहेका छन् । कूल १२ लाख १२ हजार ७०७ वटा स्याउ बिरुवाको बीमा गरिएको थियो ।
गुठिचौर–५ धिता गाउँका किसान केशव धितालले २०० स्याउ बिरुवा बीमा गरेपनि हालसम्म्म रकम नपाएको बताए । सिंजा–१ जाँच गाउँका पदम रोकायाले पनि ३०० स्याउका बिरुवा बीमा गरेको बताए । उनीहरूले किसानको दुःख, पीडालाई बुझ्न आवश्यक रहेको बताएका छन् । किसान र बीमा कम्पनीबीचको द्वन्द्वले अहिले जिल्लामा तनावको वातावरण सिर्जना गरेको छ ।
सम्पूर्ण किसानहरू आफ्ना अधिकारका लागि संगठनबद्ध भएर सडकमा उत्रने तयारीमा छन् । मौसम केन्द्रको रिपोर्ट अनुसार चन्दननाथ नगरपालिकाभित्रका किसानले प्रतिबिरुवा ६३८ रूपैयाँँ, गुठिचौरमा २१९, तिला र हिमामा ३३८, सिंजामा १७४, कनासुन्दरी र तातोपानीका किसानले प्रतिबिरुवा २४ रूपैयाँँ पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्