बर्दिया ।
आइतबार बिहान बर्दियाको राजापुर नगरपालिका– ४ राजापुर गाउँमा भएको घटना गोली प्रहारबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजापुर गाउँमा रहेको हमार थारू घर एण्ड रेस्टुरेन्टमा दाङ तुलसीपुर उपमहानगरपालिका– ५ का अन्दाजी २८ वर्षीय निरज चौधरीको गोली प्रहारबाट हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
घटनास्थलदेखि नजिकै रहेको स्थानीय एक पोल्टी फर्ममा काम गर्दै आएका चौधरी रेस्टुरेन्टमा रगताम्य अवस्थामा फेला परेको भन्दै रेस्टुरेन्ट सञ्चालक महावीर चौधरीकी श्रीमतीले अस्पताल पु¥याइकी थिइन् । चौधरीलाई नेपालगन्जस्थित एक अस्पतालमा पु¥याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।
‘घटना शंकास्पद देखिएपछि जिल्लाबाटसमेत प्रहरी परिचालन भएर सुक्ष्मरूपमा अनुसन्धान भइरहेको अवस्था हो’ उनले मिसन टुडेसँग भने, ‘चौधरीको हत्या भएको देखिने केही प्रमाणहरू भेटिएका छन् । घटनाको सत्यतथ्य चाँडै बाहिर ल्याउँछौँ ।’ घटनास्थलमा गोलीको खोकासमेत फेला परेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिए ।
घटनास्थलमा देखिएको ‘क्राइमसिन’, गोलीको खोका फेला पर्नु, प्रहरीलाई खबरै नगरी चौधरीलाई अस्पताल लैजानु लगायतले गोली प्रहार भएको संकेत देखिएको हो । घटनामा रेस्टुरेन्ट सञ्चालकको भूमिका शंकास्पद देखिएको बर्दिया प्रहरीले जनाएको छ । घटनालगत्तै रेस्टुरेन्टका सञ्चालक महावीर चौधरी फरार रहेका छन् ।
‘मृतकको टाउको र गालामा चोट देखिएको छ । गोली लागेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थलमा गोलीको खोका भेटिएको छ,’ प्रहरी निरीक्षक कार्कीले मिसन टुडेसँग भने । हत्या प्रकरणमा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा एक महिला र दुई पुरुष रहेका छन् ।
मृतकका आफन्तहरूले समेत चौधरीको गोली हानेर हत्या गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् । सोमबार मृतकका आफन्तहरू बर्दिया पुगिसकेका छन् । घटनापछि भारतको सिम्लामा रहेका मृतक चौधरीका बुबाआमा आफन्तहरूसहित बर्दिया पुगेका हुन् ।
‘मृतकको शव भेरी अस्पताल नेपालगन्जमा छ । आफन्तहरू आइपुग्नु भएको छ । पोष्टमार्टम रिपोर्ट आएको छैन । त्यसपछि सबै कुरा खुल्छ ।’ प्रहरी निरीक्षक कार्कीले भने । अब मृतक आफन्तको तर्फबाट जाहेरी आएपछि घटनाबारे थप विस्तृत अनुसन्धान हुने उनले जानकारी दिए । फरार रहेका रेस्टुरेन्ट सञ्चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्