सुगममै अकालमा ज्यान गुमाउँछन् आमाहरू



सुगम तथा सुविधासम्पन्न मानिने बाँकेमा उच्चस्तरीय प्रविधि र समयमै अस्पताल नपु¥याउँदा सुत्केरी महिलाहरूले अकालमै ज्यान गुमाउन बाध्य छन् । अहिले पनि गरिबीका कारण घरमा सुत्केरी गराउने र समयमै अस्पताल नपु¥याउँदा कतिपय सुत्केरी महिलाहरूको मृत्यु हुने गरेको छ । उपचारको प्रविधि मात्र होइन, जटिलखाले अवस्थामा अस्पताल पु¥याइँदा पनि उच्चस्तरीय प्रविधि नहुँदा मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

गणेश रावत । कोहलपुर ।

बाँके सुगम जिल्ला मानिए पनि यहाँका गर्भवती महिलाहरूले अझै अकालमा ज्यान गुमाइरहेका छन् । सुगम तथा सुविधासम्पन्न मानिने बाँकेमा उच्चस्तरीय प्रविधि र समयमै अस्पताल नपु¥याउँदा सुत्केरी महिलाहरूले अकालमै ज्यान गुमाउन बाध्य छन् । अहिले पनि गरिबीका कारण घरमा सुत्केरी गराउने र समयमै अस्पताल नपु¥याउँदा कतिपय सुत्केरी महिलाहरूको मृत्यु हुने गरेको छ ।

उपचारको प्रविधि मात्र होइन, जटिलखाले अवस्थामा अस्पताल पु¥याइँदा पनि उच्चस्तरीय प्रविधि नहुँदा मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सुगम मानिने बाँकेका पालिकाहरूमा पनि अझै प्रभावकारी स्वास्थ्य सेवा नहुँदा आमाहरूले अकालमै ज्यान गुमाउन बाध्य छन् । कतिपय महिलाले अस्पताल नपुग्दै ज्यान गुमाइरहेका छन् भने कतिपयले अस्पतालमा राम्रो उपचार नपाएर पनि ज्यान गुमाउने गरेका छन् ।

गरिबीका कारण अहिले पनि घरमा सुत्केरी गराउने र चेकजाँच गर्नुपर्छ भनेर चेतनाको विकास नहुँदा गर्भवती आमाहरूले ज्यान गुमाउने गरेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.विनोद महासेठ बताउँछन् । अर्काेतर्फ समयमै गुणस्तरीय स्वास्थ्य सेवा भएको प्रसूति गृहमा नपुग्दा पनि सुत्केरीहरूले अकालमै ज्यान गुमाउने गरेको उनले बताए । उनका अनुसार भएको स्रोतसाधनको सही परिचालन नहुनु ,गरिबी र चेतनाको कमीले सुत्केरी आमाहरूको मृत्यु हुने गरेको हो ।

गरिबी र उच्चस्तरीय प्रविधि मात्र नभई पछिल्लो समय सही परामर्श नपाउँदा पनि ज्यान गुमाउने गरेको उनी बताउँछन् । यसको न्यूनीकरण गर्न सरकार जिम्मेवार बन्नुपर्ने र भएको स्रोत साधनको सही सदुपयोग गर्न आवश्यक रहेको उनले बताए । आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै सचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । डा. महासेठ भन्छन्, ‘अस्पातल गए अप्रेसन गर्दिन्छन्, पैसा धेरै लाग्छ । अर्काेतर्फ डाक्डरहरूको विश्वास पनि नगर्ने यस्ता भ्रमित कुराहरूले गर्दा थप समस्या देखिएका छन् ।’

बाँकेमा गत आर्थिक वर्ष २०८१–०८२ मा मात्रै १९ जना सुत्केरी आमाहरूले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार जसमा ५४ जना आमाहरूले घरमै सुत्केरी गराएका थिए । उक्त आर्थिक वर्षमा बाँकेमा १७ हजार ६ सय महिलाहरूले अस्पतालमा आएर सुत्केरी सेवा लिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

जसमा नेपालगन्ज उपमहानगरपालिकाका ८ हजार ६ सय १५ जना, कोहलपुर नगरपालिकाका २ हजार ५ सय ९१ जना, नरैनापुर गाउँपालिकाका १ हजार २ सय ४८ जना, डुडुवा गाउँपालिकाका ७ सय ७१ जना, राप्ती सेनारी गाउँपालिकाका ६ सय ९ जना, खजुरा गाउँपालिकाका ६ सय १३ जना, जानकी गाउँपालिकाका ४ सय ९७ जना र बैजनाथ गाउँपालिका २ सय ६३ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएका हुन् ।

चालू आर्थिक वर्ष २०८२–०८३ को हालसम्म ७ जना सुत्केरी आमाहरूको मृत्यु भएको छ । जसमा ८ हजार ९ सय जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका २ हजार २ सय ५७ जना, कोहलपुर नगरपालिकाका २ सय २७ जना, नरैनापुर गाउँपालिकाका ३ सय ३९ जना, डुडुवा गाउँपालिकाका २ सय ५९ जना, राप्ती सेनारी गाउँपालिकाका १ सय ७८ जना, खजुरा गाउँपालिकाका २ सय २७ जना, जानकी गाउँपालिकाका १ सय ९४ जना र बैजनाथ गाउँपालिकाका ७१ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएका छन् ।

चालू आर्थिक वर्षको हालसम्म होम डेलिभरी हुने १३ जना रहेका छन् । विगतका वर्षहरूमा भन्दा यस वर्ष आमा सुरक्षा कार्यक्रममार्फत सेवा लिने आमाहरूको सङ्ख्या घट्ने अनुमान गरिएको छ । कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाले आमा सुरक्षा कार्यक्रम नेपालगन्ज मेडिकल कलेजसँग सम्झौता नगरेकाले केही घट्ने अनुमान गरिएको हो । तर अहिले भेरी अस्पतालसँग सहकार्य गर्नुका साथै स्थानीय तहले आफ्नै स्वास्थ्य संस्थामार्फत आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार