धनगढी ।
सुदूरपश्चिम प्रदेशको साँस्कृतिक, आर्थिक र सामाजिक समृद्धिको परिचायकको रूपमा रहेको सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण धनगढीमा आजदेखि सुरु हुँदैछ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
महोत्सवले प्रदेशको उद्योग, व्यापार, कृषि र पर्यटनको झल्को प्रस्तुत गर्नेछ । आयोजक संघका अनुसार, महोत्सवको लागि मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरी सबै तयारी पूरा भइसकेको छ । महोत्सवमा उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्नेछन् । तीन करोड रूपैयाँको लगानीमा आयोजना हुन लागेको महोत्सवमा करिब १५ करोड रूपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल र पर्यटन क्षेत्रसम्बन्धी पाँच सय वटा स्टल राखिने छन् । यसमध्ये कृषितर्फ ४० वटा, महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ वटा गरी जम्मा ५५ स्टल निशुल्क रहनेछन् । यसरी कृषि र महिला उद्यमशीलतामा विशेष जोड दिइएको छ । महोत्सव अवधिभर करिब सात लाख नागरिकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
टिकट दर विद्यार्थी र खेलाडीका लागि ५० रूपैयाँ र सर्वसाधारणका लागि १०० रूपैयाँ निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूले निशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ । संघका पदाधिकारीहरूले महोत्सवलाई सबै उमेर समूह र समुदायका लागि पहुँचयोग्य बनाउन प्रयास गरिएको बताएका छन् । महोत्सवको अर्को विशेष पक्ष भनेको सुदूरपश्चिम प्रदेशको कला, संस्कृति र स्थानीय परिकारको प्रदर्शनी हो ।
यहाँको साँस्कृतिक झल्को देखाउने विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्, जसले युवा पुस्तालाई आफ्नै साँस्कृतिक पहिचानसँग जोड्ने विश्वास गरिएको छ । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालमा २१ बुँदे मागपत्र पेश गरेर पहिलो सुदूरपश्चिम महोत्सव सुरु गरेको थियो । त्यसयता महोत्सव १८ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ । यद्यपि, केही मागहरू अझै पुरा हुन बाँकी रहेको संघले जनाएको छ ।
आयोजकहरूले महोत्सवलाई प्रदेशको पर्यटन प्रवद्र्धनको अवसरका रूपमा समेत हेरिरहेका छन् । महोत्सव अवधिभर पर्यटकहरूलाई आकर्षित गर्न विशेष कार्यक्रम र प्रदर्शनी राखिनेछन् । यहाँको स्थानीय उत्पादन, हस्तकला, जडिबुटी तथा परिकारलाई बाहिरका बजारमा चिनाउने लक्ष्य राखिएको छ ।
कुल मिलाएर, यो महोत्सव न केवल व्यापारिक गतिविधि मात्र होइन, प्रदेशको सामाजिक र साँस्कृतिक जीवनको एक महत्वपूर्ण पर्वको रूपमा स्थापित भएको छ । स्थानीय समुदाय, व्यवसायी र सरकारबीचको समन्वयले सुदूरपश्चिम प्रदेशलाई आर्थिक र साँस्कृतिक दृष्टिले थप समृद्ध बनाउन यो महोत्सवले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्