शेरबहादुर ऐर । कैलाली ।
कैलाली लम्की बजार वरिपरी मंसिर महिनामा सुरु भएको लम्की महोत्सव यस वर्ष पनि साँस्कृतिक, सामाजिक र आर्थिक दृष्टिले विशेष महत्वपूर्ण रह्यो । रंगीन झन्डा, चम्किला बत्ती र संगीतले बजारको वातावरणलाई जीवंत बनाएको थियो । गाउँ–नगरका सयौँ सहभागिले सडक र चोकहरूमा उत्सवको रौनक बढाउँदै थिए । सहरभरको भीड र रंगीन सजावटले महोत्सवको माहौल आकर्षक बनाएको थियो । तर, उत्सवको रमाइलो र चमक–दमकको बीचमा एउटा सत्य छिपेको थियो, जुन व्यवसायी चन्द्र चौधरीले अनुभव गरे ।
चन्द्र चौधरी आफ्नो स्टलमा नयाँ परिकार र पेय पदार्थ बेच्दै थिए । उनको व्यवसाय केवल आम्दानीको साधन मात्र थिएन । यो परिवारको भविष्यको आधार पनि थियो । उनी बताउँछन्, ‘मैले स्टलमा आउने प्रत्येक आगन्तुकलाई स्वागतसहित रमाइलो अनुभव दिन खोजेँ । व्यापार केवल पैसा कमाउने काम मात्र होइन, मेरो परिवार र समुदायसँगको सम्बन्धको माध्यम पनि हो ।’
उनको स्टल झन्डा, बत्ती र सजावटले आकर्षक देखिन्थ्यो । आगन्तुकहरूले स्वादिष्ट परिकार र पेय पदार्थको अनुभव लिँदै रमाइलो वातावरणको हिस्सा बने । कतिपय बच्चा र युवाहरू झन् उत्साहित देखिन्थे । मंसिर १० देखि १४ सम्म सबै सामान्य रूपमा अघि बढ्यो । आयोजकले सुरक्षा गार्ड तैनाथ गरेका थिए र भीड नियन्त्रणको योजना बनाएका थिए ।
तर, मंसिर १५ गते साँझको घटना सबै कुरा बदलिदियो । मदिरा सेवन गरेका केही व्यक्तिहरू स्टलमा आए । सुरुमा उनीहरू सामान्य ग्राहक जस्तै देखिए । चन्द्रले शान्तिपूर्वक स्वागत गरे, तर उनीहरूले सामान लिएर पैसा नतिर्नुका साथै कुटपिटमा उत्रिए । सो घटनालाई स्मरण गर्दै उनले भने, ‘सुरक्षागार्डले महोत्सव बन्द गर्ने समय भयो । सबै कारोबार बन्द गर भन्यो । म उनीहरू बसिरहेको ठाउँमा छिटो खानपिन सक्न भन्न गए । तर, उनीहरूले अपशब्द प्रयोग गरे । त्यसपछि केही नबोली त्यहाँ सुरक्षामा खटिएका गार्डको सहयोग माग्न पुगे । त्यतिकैमा उनीहरूको समूहले ममाथि बोतल आक्रमण ग¥यो । मेरो टाउँकोमा दुई वटा टाका लाग्यो ।’
सोको भोलिपल्ट लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज ढकालले घटना दुःखद भएको भन्दै आक्रमण गर्ने केटाहरूलाई सम्झाउने भनेपछि उनले व्यवसायलाई निरन्तरता दिए । तर, मंसिर १७ गते चन्द्रले सोही समूहबाट धम्की व्यहोर्नुपरेको थियो । आफूलाई ज्यानमार्ने धम्की आएपछि तीस हजार खर्च गरेर सुरु गरेको व्यवसाय छोड्नुपरेको बताए ।
‘म व्यवसायको लागि त्यहाँ थिएँ, तर त्यो रात मेरो जीवन र व्यापार दुवैको लागि खतरा बन्यो । मलाई तत्काल महोत्सव छोड्नुप¥यो । त्यो रात जीवनभरको स्मृति जस्तो छ ।’ चन्द्र भन्छन्, ‘हाम्रो परिवारका लागि त्यो रात सबैभन्दा त्रसित थियो । म बच्चाहरूलाई सम्झाउँदै थिएँ कि सबै ठीक छ, तर मेरो मनमा निरन्तर डर थियो ।’ व्यवसाय र व्यक्तिगत जीवनबीचको अन्तरले स्पष्ट पार्छ कि सार्वजनिक कार्यक्रममा व्यवसायी सुरक्षा केवल शारीरिक जोखिमको विषय मात्र होइन । मानसिक स्वास्थ्य र परिवारको सुरक्षामा पनि प्रत्यक्ष प्रभाव पार्छ ।
घटनापछि उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज ढकालले व्यवसायीमाथि अन्याय भएको स्वीकार गरे । तर, दोषीको पहिचान स्पष्ट नभएको बताए । आयोजकले सो स्थानमा सीसीटिभी फुटेज जडान गरेका थिए । प्रहरीले सो सीसीटिभी फुटेजको विश्लेषण गरि दोषीलाई छलफलका लागि बोलायो । तर, त्रासमा रहेका चन्द्र सुरक्षित वातावरण खोजिरहेका थिए । अध्यक्ष ढकालले उनको उपचार खर्च व्यहोर्ने आश्वासनमात्र देखाए । घटना लुकाउन इलाका प्रहरी लम्कीमा छलफलमा बोलाई चन्द्रलाई जाहेरी दिनबाट रोक लगाएको छ । उनी भन्छन्, ‘यहि १९ गते मलाई प्रहरीले बोलायो । म गए तर, प्रहरीले जाहेरी लिनुभन्दा पनि सहमति गरायो ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले भने, ‘पीडितले जाहेरी दिएका छैनन् । जाहेरी बिना कानुनीकारबाही गर्न सकिँदैन ।’ नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार, चन्द्रमाथि भएको आक्रमण विभिन्न अपराधको श्रेणीमा पर्छ। धम्की, शारीरिक आक्रमण र समूह हिंसा सबै अपराधको दायरामा पर्छन् । व्यवसायीले आफ्नो स्टलको सुरक्षा सुनिश्चित गर्न कानुनअनुसार कदम चाल्न सक्ने व्यवस्था भए तापनि चन्द्रले जाहेरी दर्ता नगरेको कारण कानुनी कारबाही सुस्त रह्यो ।
यसले स्पष्ट देखाउँछ कि व्यवसायी सुरक्षा र कानुनी संरचना प्रत्यक्ष रूपमा जोडिएको छ । लम्की महोत्सवमा हजारौँ आगन्तुक, मदिरा सेवन गर्ने व्यक्तिहरू र हिंसात्मक सम्भावनाले भीड व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको थियो । व्यक्तिगत स्टल सञ्चालन गर्दै शारीरिक सुरक्षा सुनिश्चित गर्नु कठिन थियो । कानुनी संरचना पनि जाहेरीमा निर्भर भएकाले, व्यवसायीको सुरक्षा केवल व्यक्तिगत प्रयासमा सीमित रह्यो । सुरक्षा विशेषज्ञहरूले सार्वजनिक कार्यक्रम केवल आर्थिक लाभको लागि नभई, सुरक्षा, कानुनी संरक्षण र व्यवसायीको सम्मान सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।
चन्द्र भन्छन्, ‘मैले अनुभव गरेँ कि सुरक्षा र कानुनी संरक्षण बिना व्यवसाय गर्न असुरक्षा हुन्छ । भविष्यका महोत्सवमा यी उपायहरू अनिवार्य हुनु पर्छ ।’ चन्द्रको अनुभवले स्थानीय पर्यटन र व्यवसायमा योगदान पु¥याउने महोत्सवहरूमा पनि दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने खतरा रहेको देखाउँछ । रंगीन झन्डा, चम्किला बत्ती र उत्सवको रौनकमा लिप्त भएर व्यवसायीको सुरक्षा र कानुनी संरक्षणलाई बेवास्ता गर्दा भविष्यमा यस्ता सार्वजनिक कार्यक्रम जोखिमपूर्ण बन्न सक्छन् ।









प्रतिक्रिया दिनुहोस्