रामप्रकाश विक । जुम्ला ।
कर्णालीवासीले भोग्दै आएको रगत अभावको समस्या अब समाधान हुने भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अब ब्लड बैंक सञ्चालन हुने भएको हो । प्रतिष्ठानमा ब्लड बैंक सञ्चालनका लागि आवश्यक मेसिन तथा उपकरण जडान भइसकेको जनाइएको छ । अब केही दिनमै सेवा सुरु गर्ने तयारी गरिएको प्रतिष्ठानका उपकूलपति डा. पुजन रोकायाले जानकारी दिए । उनका अनुसार रगत परीक्षणदेखि ब्लड–सिल गर्ने सबै उपकरण तयार भइसकेको छ ।
ब्लड बैंकका लागि उपयोगी मेसिन अमेरिका–नेपाल मेडिकल फाउण्डेशनले उपलब्ध गराएको उनले बताए । ब्लड बैंकमा एक महिनासम्म रगत सुरक्षित राख्न सकिने र हाल प्रतिष्ठानसँग २०० भन्दा बढी पोका अट्ने आधुनिक फ्रिजसमेत रहेको उपकूलपति डा. रोकायाले बताए । तर अहिले मुख्य चुनौती रक्तदान गर्ने व्यक्तिको कमी रहेको उनको भनाइ छ । प्रतिष्ठानमा नियमित रक्तदान गर्नेमा हाल अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नेपाली सेना प्रमुख स्रोतका रूपमा रहेका छन् ।
‘विशेष उत्सवका बेला सभा–समारोहमा फलफूल बाँड्ने परम्पराभन्दा अब रक्तदानलाई प्राथमिकता दिने चेतना फैलिनुपर्छ’ डा. रोकायाले भने, ‘रक्तदानको महत्वबारे सचेतना बढाएका छौँ । अब ब्लड बैंक सुरु भएपछि रगत अभावकै कारण उपचारमा ढिलाइ हुने अवस्थाको अन्त्य हुनेछ ।’ यसअघि रगत अभावका कारण बिरामी र परिवारले निकै ठूलो कठिनाइ भोग्नुपरेको थियो । बिरामीलाई रगत खोज्न दौडधुप गर्नुपर्ने बाध्यता थियो ।
भने रगत अभावको समस्याले बिरामीको उपचारमा विलम्ब हुने गरेको थियो । जसको एक उदाहरण पात्र सिंजा गाउँपालिकाकी तारा रोकाया हुन् । उनलाई पाठेघरको शल्यक्रिया गर्दा आवश्यक ‘ओ पोजेटिभ’ रगतको व्यवस्था गर्न परिवारलाई चिकित्सकले सुझाव दिएका थिए । उनका श्रीमान शेरबहादुर रोकायाले हैरान गरी रगतका लागि आफन्तलाई तयारी अवस्थामा राखेपनि अन्तिममा रगत प्रयोग गर्नुपरेको थिएन ।
यस्तै सोही गाउँपालिकाकी कोइरे रावतको पाठेघरमा मासुको ट्यूमर बढेपछि शल्यक्रियाको तयारी गर्दा रगत अभावको समस्या दोहोरियो । उनका श्रीमान लोगबहादुरलाई रगत खोज्न धेरै दौडधुप गर्नुपरेको थियो । स्थानीय धन्नलाल रावतका अनुसार पहिले रगत खोज्नै ठूलो चुनौती थियो।
त्यसका लागि सेना–प्रहरी धाउनुपर्ने बाध्यता थियो । अब ब्लड बैंक सञ्चालनमा आएपछि जुम्लावासीले राहत पाउने अपेक्षा गरिएको छ । बिरामीले आवश्यकता अनुसार पातलो, बाक्लो, सेतो लगायत आवश्यक प्रकारको रगत अस्पतालमै सुरक्षित र जाँचिएको अवस्थामा प्राप्त गर्न सक्ने प्रतिष्ठानले जनाएको हो ।









प्रतिक्रिया दिनुहोस्