काठमाडौँ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै काठमान्डु गोर्खाज अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो । लिगमा चौथो जित निकाल्दै ८ अंक बटुलेको छ । अहिलेसम्म खेलेका ६ खेलमध्ये काठमान्डुले ४ खेल जित्दा २ खेल हारेको छ । महत्वपूर्ण चौथो जित निकाल्दै काठमान्डु प्लेअफ नजिक पुगेको हो ।
विराटनगर किंग्ससँग समान अंक भएपनि रनरेटमा काठमान्डु अघि छ । अब उसले पोखरासँग अन्तिम खेल खेल्नेछ । उक्त खेलमा पराजय भोगेपनि अरु टोलीको नतिजाको आधारमा काठमान्डु शीर्ष चारमा रहेर प्लेअफमा पुग्न सक्छ । अब काठमान्डुलाई विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले मात्र पछि पार्न सक्छ । उता, पाँच खेलमा चौथो हार व्यहोरेको कर्णाली याक्सको भने प्लेअफ सम्भावना कमजोर बनेको छ । अब उसले बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा प्लेअफमा पुग्न सक्छ ।
त्यसका लागि अरु टोलीको नतिजामा भर पर्नु पर्छ । चौथो जित निकाल्ने क्रममा काठमान्डुले आइतबार कर्णालीले दिएको १५० रनको लक्ष्य १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । काठमान्डुका ओपनिङ ब्याटर आकाश त्रिपाठी ८ रनमा आउट भए । अर्का ओपनर बने चाल्र्सवर्थले ३४ रनको योगादन गरे । उनले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कर्णालीका कप्तान सोमपाल कामीविरूद्ध उनले एकै ओभरमा ३ छक्कासहित २० रन जोडेर आक्रामक सुरूवात दिलाएका थिए । तर उनी आठौँ ओभरमा पवन सर्राफबाट बोल्ड हुन पुगे ।
त्यसपछि मिलिन्द कुमार ११औँ ओभरमा रनआउट भए । गेराल्ड इरासमसँग रन लिने विषयमा असझदारी हुँदा उनी १५ रन बनाएर पेभिलियन फर्किए । इरासमस र जोन सिमसनको जोडीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै काठमान्डुलाई जित दिलाए । जितका लागि एक रन चाहिएको स्थितिमा सिमसन ४१ रनमा आउट भए । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा रशिद खान पनि क्याच भए । इरासमसले ३३ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ४३ रन प्रहार गरे । बलिङमा कर्णालीका नन्दन यादवले ३ विकेट लिए । उनले चार ओभरमा ३५ रन दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेटको क्षतिमा १४९ रन बनायो । कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गर्दै २२ बलमा नटआउट ४९ रन जोडे । गुल्सनले ६ चौका र ३ छक्का प्रहार गरे । कर्णालीको सुरूवात भने खराब रह्यो । पहिलो बलमै ओपनर प्रियांक पन्चाल करण केसीको बलमा कट एन्ड बउल्ड हुँदा रोयल डक भए । पहिलो ओभरकै अन्तिम बलमा विलियम बोसिस्टोलाई शाहब आलमले रनआउट गरेपछि उसले पहिलो ओभरमै दुई विकेट गुमायो ।
त्यसपछि तेस्रो विकेटका लागि मार्क वाट र पवन सर्राफले ५८ रनको साझेदारी गरे । वाट पनि नवौँ ओभरमा भीम सार्कीबाट डाइरेक्ट हिटमार्फत रनआउटको सिकार बने । उनले ३० रन बनाउने क्रममा २७ बलमा १ चौका र २ छक्का प्रहार गरे । पवन सर्राफले ३५ रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी १२औँ ओभरको पहिलो बलमा सन्तोष यादवको एलबिडब्लूको धरापमा परे । नाजिबुल्लह जाद्रान १४ बलमा १२ रन बनाएर पेभिलियन फर्के ।
कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारबाट कट एन्ड बउन्ड भएका थिए । १९औँ ओभरको अन्तिम बलमा दिपक डुम्रे १० रनको स्थितिमा रशिद खानबाट बोल्ड भए । बलिङमा काठमान्डुका रशिद खानले २ विकेट लिए । उनले ४ ओभरमा ३७ रन दिए । करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए ।
लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा 
लुम्बिनी लायन्सका खेलाडी निरोशन दिकवेल्ला कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१ आचारसंहितासम्बन्धी अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको हो । उक्त खेलका क्रममा अम्पायरले दिएको लेग विफोर विकेट (एलबिडब्ल्यु)को निर्णयमा असहमति जनाएकामा निरोशनलाई कारबाही गरिएको जनाइएको छ ।
अम्पायरले पोखराका खेलाडीलाई नटआउट दिएपछि उनले अम्पायरलाई आफ्नो पञ्जा देखाए देखाएका थिए । डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।
‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने
नेपाल प्रिमियर लिग (एनपीएल)मा एउटा टोलीलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र इंग्ल्यान्डको मेरिलेबन क्रिकेट क्लब (एमसिसी) बीच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
क्यानले अब एनपीएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ । खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ । यसका साथै एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य गर्न तयार रहेको समेत बताएको छ ।









प्रतिक्रिया दिनुहोस्