आज विश्व एड्स दिवसः सुदूरपश्चिममा संक्रमितको दरमा सुधार आएन



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिममा एचआइभी नयाँ एचआईभी संक्रमित दर घटबढ भइरहेकोे छ । विगत पाँच वर्षको तथ्यांक हेर्दा संक्रमितको सङ्ख्या घट्ने र बढ्ने क्रममा रहेको देखिएको हो । स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार पाँच वर्षको तथ्यांकमा एचआइभी संक्रमितको सङ्ख्या प्रत्येक आर्थिक वर्षअनुसार घटबढ भएको देखिन्छ । आर्थिक वर्ष २०७७–०७८ मा दुई सय १५ संक्रमित रहेकोमा आर्थिक वर्ष २०७८–०७९ मा वृद्धि भएको देखिन्छ । सो आर्थिक वर्षमा तीन सय २५ जना पुगेको थियो ।

आर्थिक वर्ष २०७९–०८० मा कमी आएर संक्रमितको सङ्ख्या दुई सय ५२ पुगेको थियो । आर्थिक वर्ष २०८०–०८१ मा भने दुई सय १८ रहेकोमा आर्थिक वर्ष २०८१–०८२ मा संक्रमितको सङ्ख्या एक सय ८१ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल सुदूरपश्चिममा तीन हजार सात सय ३० जना उपचारमा रहेकोमा भाइरल लोड कम भएको सङ्ख्या तीन हजार ४९ रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा पाँच हजार २३ संक्रमित पहिचान हुने अनुमान गरेकोमा चार हजार ४९ जनामात्र पत्ता लागेको थियो।

सुदूरपश्चिममा ७३ हजार एक सय २० जनाको एचआइभी जाँच गरिएकोमा शून्य दशमलव दुई अर्थात् (एक सय ८१ जनामा पत्ता) लागेको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा बढी संक्रमित सङ्ख्या कैलालीमा र सबैभन्दा कम दार्चुलामा रहेको छ।
कैलालीमा सो आर्थिक वर्षमा ७७ जना नयाँ संक्रमित थप भई एचआईभी संक्रमितको सख्या एक हजार सात सय ४० पुगेको छ भने दार्चुलामा छ जना नयाँ संक्रमित थप भई ५० जना उपचाररत थिए । कैलालीपछि सबैभन्दा बढी एचआईभी संक्रमित अछाममा रहेको छ ।

गत वर्ष अछाममा छ जना नयाँ संक्रमित थप भई पाँच सय ७० जना उपचाररत रहेका थिए । तराईको दोस्रो जिल्ला कञ्चनपुरमा ३३ जना नयाँ संक्रमित पहिचान भएसँगै चार सय ५५ जना उपचाररत रहेको निर्देशनालयको तथ्यांकमा रहेको छ । डोटीमा आठ जना नयाँ संक्रमित पहिचान भएसँगै चार सय ९०, बाजुरामा तीन जना नयाँ संक्रमित फेला परेसँगै ७२, बझाङमा नौ जना नयाँ संक्रमितसँगै ९६, बैतडीमा नौ जना नयाँ संक्रमित पहिचान भएसँगै एक सय ३२ र डडेलधुरामा १३ जना नयाँ फेला परेसँगै एक सय २५ जना उपचाररत थिए ।

मृत्युदरमा पनि सुधार भएन

सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्नेः शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धित मृत्यु, शून्य एचआईभी सम्बन्धित भेद्भावलाई राष्ट्रिय एचआईभी कार्यक्रमका भविष्यका प्राथमिकतामा राखेको छ । तर, अहिलेसम्म एचआईभीकै कारण बर्सेनि प्रदेशमा मृत्यु हुने गरेको तथ्यांक रहेको छ । गत पाँच वर्षको तथ्यांक हेर्दा एचआईभीका कारण मृत्यु हुनेको दरमा कमी आउँदै गरेपनि अझै पनि शून्यमा पु¥याउन सकस देखिन्छ ।

आर्थिक वर्ष २०७७–०७८ मा ८२ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७८–०७९ मा कमी आएको थियो । २०७८–०७९ मा ७९ जना एचआईभी संक्रमितको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९–०८० मा ६४ जनाको मृत्यु भएको थियो । तर, आर्थिक वर्ष २०८०–०८१ मा यो सङ्ख्यामा कमी आएन । २०८०–०८१ मा पनि ६४ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०८१–०८२ मा एचआईभीकै कारण ६३ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्यकर्मीहरूले मृत्यु हुनुको कारण एचआईभी मात्र नभई बहुआयामिक रोगका कारण मृत्यु हुने गरेको जनाएका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले भने, ‘एचआईभी संक्रमितहरूमा निमोनिया, डाइवेटिज, दमलगायत अन्य नसर्ने रोगहरूको संक्रमणले मृत्यु हुने गरेका छन् ।’ उनले समयमै संक्रमित उपचारको दायरामा आउने र नियमित औषधि सेवन गरेमा मृत्युको जोखिमबाट बचाउन सकिने बताए । उनले भने, ‘कुनै समय प्राणघात रोगका रूपमा हेरिने गरेको थियो । यसको औषधि निर्माण भएपछि अहिले बिरामीहरूको व्यवस्थापन गर्न सकिएको छ ।’

गोदावरीमा सबैभन्दा बढी संक्रमित

सुदूरपश्चिममा ८८ वटा स्थानीय तह रहेको छ । जसमध्ये छ स्थानीय तहमा एचआईभी संक्रमित शून्य रहेको पाइएको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित कैलालीको गोदावरी नगरपालिकामा रहेको निर्देशनालयले जनाएको छ । गोदावरीमा दुई सय ९१ एचआईभी संक्रमित रहेका छन् भने दोस्रोमा धनगढी उपमहानगरपालिका रहेको छ ।

निर्देशनालयका अनुसार धनगढीमा दुई सय ४४ जना एचआईभी संक्रमित रहेका छन् । प्रदेशमा एक सयदेखि दुई सयसम्म एचआईभी संक्रमित रहेको स्थानीय तह आठ, ५१ देखि एक सय संक्रमित रहेको स्थानीय तहको सङ्ख्या १२ वटा रहेको छ भने २१ देखि ५१ एचआईभी संक्रमित रहेको स्थानीय तहको सङ्ख्या १६ रहेको छ ।

यी हुन प्रमुख चुनौती

एचआईभी संक्रमित व्यक्तिहरू नियमित उपचारको दायरामा नआउने, उपचारकै क्रममा भारत प्रस्थान, प्रवासीहरूमा नियमित जाँच तथा परामर्श, संक्रमितहरूको उमेरका कारणले आउने जिराएट्रिक समस्याहरू, केही संक्रमितहरूलाई पोषण तथा यातायातसम्बन्धी समस्या, एकल महिला तथा बालबालिकाहरूको शैक्षिक सुधारसम्बन्धी लगायतका प्रमुख चुनौती रहेका स्वास्थ्यकर्मीहरू बताउँछन् ।

भव्यरूपमा मनाइँदै दिवस 

‘अवरोधहरू पार गरी, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । स्वास्थ्य निर्देशनालयको आयोजनामा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमका अनुसार दिवसको अवसरमा धनगढी ट्राफिक चौराहदेखि पार्कमोडसम्म ¥याली आयोजना गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार