निर्वाचनमा हेलिकप्टर नै प्रयोग गर्नुपर्ने बाध्यता



डोल्पा ।

भौगोलिक हिसाबले सबैभन्दा ठूलो जिल्ला डोल्पामा जिल्लाभित्र सहज सडक सञ्जाल जोडिएको छैन । जिल्लाभित्रका पालिकाहरूबाट सदरमुुकाम दुुनै आउजाउ गर्न सहज सडक सञ्जाल नभएका कारण आसन्न प्रतिनिधिसभा निर्वाचनमा हेलिकप्टर प्रयोग गर्नुुपर्ने बाध्यता छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि एक क्षेत्र नम्बर रहेको डोल्पामा ६६ मतदानस्थल रहेका छन् ।

आसन्न निर्वाचनका लागि जिल्लामा थप दुई वटा नयाँ मतदानस्थल कायम गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा सिफारिस गरिएको छ । तर, डोल्पाका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राईका अनुसार भौगोलिक हिसाबले डोल्पाको माथिल्लो क्षेत्रमा कर्मचारी पठाउन, मतदानपछि मतपेटिका ल्याउन र आकस्मिक स्वास्थ्य समस्या भए उद्धार गर्न अझै पनि हेलिकप्टरमा निर्भर हुनुपर्ने बाध्यता छ ।

भौगोलिक अवरोधका कारण डोल्पाका माथिल्लो क्षेत्रमा मतपेटिका पैदल ल्याउन सम्भव नभएको उनले बताए । ‘निर्वाचनमा हेलिकप्टर नै चलाउनुुपर्ने देखिन्छ, जसले निर्वाचन खर्च बढाइरहेको छ,’ उनले भने, ‘डोल्पामा भौगोलिक विकटताबाहेक अन्य ठूला प्राविधिक चुनौतीसँगै उपल्लो क्षेत्रमा सुरक्षा जोखिमपनि छ । प्रतिकूल मौसम र राजनैतिक गतिविधि न्यून भएका कारण चुनाव सञ्चालनमा झनै जटिल हुने गर्छ ।’

प्रत्येक पटकको चुनावमा मतदान कब्जासँगै मतदाता नियन्त्रणमा लिन खोज्ने तथा दलबन्दीका आधारमा वातावरण असहज हुने गरेको आरोप बर्सेनि उठ्दै आइरहेको छ । डोल्पामा सधैँको चुनावको जसरी यो पटक पनि नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । जिल्लामा एक हजार सात जना नयाँ मतदाता थपिएका छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा भएपछि डोल्पामा एक हजार सात जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मंसिर ६ गते रातिदेखि सकिएपछि डोल्पादेखि नाम दर्ता गरेका नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

फोटो तथा औँठाछापसहितको बायोमेट्रिक विवरणमार्फत ५९८ र राष्ट्रिय परिचयपत्रमार्फत ४०९ जनाले नयाँ मतदातामा नाम दर्ता गराएका हुन्। आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउने सङ्ख्या बढेको हो । डोल्पामा गत असोजसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या २३ हजार २४९ रहेको थियो ।

असोजपछि भने एक हजारभन्दा बढी मतदाता थपिएसँगै अब डोल्पामा मतदाताको सङ्ख्या २४ हजार २५६ पुगेको छ । तर यो सङ्ख्या अन्तिम भने नभएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोही मृत्यु भएका र कोही देशबाहिर रहेका कारण मतदाता सङ्ख्यामा केही थपघट हुने अनुुमान छ । निर्वाचन आयोगले प्रत्येक जिल्लामा मंसिर १५ गतेसम्म नयाँ विवरण सार्वजनिक गर्ने र पुस २० गतेसम्म मतदाताको नामावली अद्यावधिक डाटा पठाउने तयारी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार