देशभर थपिए ७५ नयाँ मतदानस्थल



आयोगको निर्णयअनुसार मतदाताको सुविधाका लागि ७५ वटा नयाँ मतदानस्थलहरू थपिएका छन् भने यसअघिका ९३ वटा मतदानस्थलहरू पनि अन्यत्र सारिएको छ । मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको छ ।

काठमाडौँ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर ७५ वटा नयाँ मतदानस्थलहरू थप गरिएका छन् । आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूमा पुनरावलोकन गरेको हो ।
मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित बनाउन आयोगले आइतबार देशभरका मतदानस्थल पुनरावलोकन गर्ने निर्णय गरेको थियो। आयोगको निर्णयअनुसार मतदाताको सुविधाका लागि ७५ वटा नयाँ मतदानस्थलहरू थपिएका छन् भने यसअघिका ९३ वटा मतदानस्थलहरू पनि अन्यत्र सारिएको छ ।

ती स्थान अपायक भएको भन्दै नयाँ मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको छ । यससँगै आगामी निर्वाचनमा देशभर १० हजार ९६७ वटा मतदान स्थल रहनेछन् । यसअघि देशभर १० हजार ८९२ वटा मतदानस्थलहरू रहेका थिए । योसँगै मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदानस्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि नै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम आइतबार सकिएको छ । आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । कार्यालय स्थापना भएपछि त्यसले प्रत्यक्षतर्फको उम्मेवारी मनोनयनको कार्यतालिका सार्वजनिक गर्नेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम तय गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ । निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाएको छ ।

निर्वाचनका लागि १२० दलले दिए निवेदन 

निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ता र एकल चुनाव चिह्न प्रयोग गर्न चाहने दलहरूबाट कूल १२० वटा निवेदन प्राप्त भएको जनाएको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिअनुसार दल दर्ताको अवधि पनि सकिएको छ । आयोगको यसअघिको मिति कात्तिक २८ को निर्णयानुसार दल दर्ताको प्रारम्भिक अवधि मंसिर १ गतेदेखि १० गतेसम्मका लागि तोकिएको थियो ।

पछि आयोगको मंसिर १० को निर्णयानुसार दल दर्ताको अवधि मंसिर १४ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको यो अवधिभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि जम्मा १२० वटा निवेदन प्राप्त भएका हुन् ।
निर्वाचन आयोगले स्वीकृत कार्यतालिका अनुसार प्राप्त भएका यी निवेदनहरू उपर छानबिन गरी प्रचलित कानुनबमोजिम योग्यता पुगेका राजनीतिक दलहरूलाई २०८२ साल मंसिर २० गतेसम्ममा स्वीकृति प्रदान गरिनेछ ।

दर्ता हुने राजनीतिक दलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिन पाउनेछन् । गत ४ मंसिर २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भन्दा यसपटक निर्वाचन लड्ने दलको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यसबेला ८४ दलले चुनाव लडेका थिए यसपटक चुनाव लड्ने भनेर दर्ता गराएका दलहरूको सङ्ख्या १२० पुगिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार