जाजरकोट ।
जिल्ला अस्पताल जाजरकोटमा एक महिनादेखि एक्सरे सेवा अवरुद्ध छ । अस्पतालमा रहेको एक्सरे मेसिन बिग्रिएपछि मेसिन मर्मतमा ढिलाई गर्दा सेवा अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएपछि हाल उपचारका लागि आएका बिरामीलाई समस्या हुनेगरेको छ । जिल्लाको ग्रामीण गाउँबस्तीका जनतालाई सेवा दिने गरी सञ्चालन भएको ५० शैयाको अस्पतालबाट सामान्य सेवा पनि उपलव्ध नहुँदा बिरामीलाई सकस भएको हो ।
अस्पतालमा सेवा लिन पुगेका बिरामीलाई नेपालगन्ज, सुर्खेत लगाएतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । यो अस्पताल करिब १० वर्षअघि नै १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको थियो । भेरी नगरपालिका–३ की शोभा सिंहले एक्सरे मेसिन बिग्रिएको एक महिना बिते पनि सरोकारवाला निकायले मर्मत नगरेपछि अस्पतालबाट पाउने सेवा ठप्प भएको बताइन् ।
‘जाजरकोट अस्पतालमा रक्तस्राव रोक्ने औषधीसमेत छैन रहेछ अस्पताल पुगेर रित्तै फर्किनु पर्र्यौ’ उनले भनिन्, ‘गरिब, विपन्न, आर्थिक अवस्था कमजोर, जोखिममा परेका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले सहज सेवा नपाएपछि साहुबाट ऋण लिएर औषधी उपचारका लागि बाहिर जिल्ला जानुपर्ने अवस्था आएको छ ।’ औषधी, एक्सरेलगायतका सेवा नपाएपछि बाह्य जिल्ला जान नसक्ने अधिकांश बिरामी रूकुम पश्चिमको चौरजहारी अस्पतालमा जाने गरेका छन् ।
स्थानीय तह, सरोकारवाला निकाय, अस्पताल व्यवस्थापन समितिको बेवास्ताका कारण उपचार गर्न आएका बिरामीले सास्ती पाउने गरेका हुन्। जिल्लामा अत्याधुनिक भवन बनेपछि विभिन्न रोगको सेवा पाउने आशा गरेका सर्वसाधारण निराश भएका छन् । लामो समयदेखि बिग्रिएको एक्सरे मेसिन बनाउनतर्फ अस्पतालकै ध्यान गएको छैन ।
अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार विशेषज्ञ डाक्टरको दरबन्दी सात जनाको भएपनि दुई जना स्थायी र दुई जना करारबाट पूर्ति गरेर सेवा दिइएको छ । आठ जना मेडिकल अधिकृत दरबन्दी भएपनि डा. अखिलेश्वर झा र भूपेन्द्र बजगाईं स्थानीय र बाँकी पाँच जना डाक्टर करार सेवामा रहेको उनले जानकारी दिए । उनका अनुसार बत्ती नियमित नहुँदा मेसिनमा समस्या आउने र मर्मत गर्न कठिनाइ हुने गर्दा समस्या भएको हो ।
अस्पतालका व्यवस्थापक डा. सुनील पुनले सानो प्रोटेबल मेसिनको सामान नेपालमा नपाइने र भारतबाट ल्याउनु परेका कारण अब केहिदिनमा मर्मत गरी सञ्चालनमा ल्याइने बताए । सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्गता, अति गरिब, विपन्न जनताले पाउने औषधी खरिदका लागि ठेक्का भइसकेकाले छिट्टै औषधी पूर्ति गरिने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्