पत्रकार आचार्यको मृत्युपछि आफन्त आन्दोलित



वीरेन्द्रनगर ।

पत्रकार वीरेन्द्र आचार्यको मृत्युपछि उनका आफन्तले आन्दोलन गरेका छन् । शुक्रबार राती सवारी दुर्घटनामा पत्रकार आचार्यको मृत्यु भएको थियो । आचार्यको मृत्युुपछि उनका आफन्तले शनिबार वीरेन्द्रनगरमा आन्दोलन चर्काएका हुन् । घटनाको उचित छानबिनको माग गर्दै आफन्तहरूले शनिबार वीरेन्द्रनगरको मुलपानी चोक र एरिचोक लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका कारण कर्णाली राजमार्गमा भल्ने सवारी आवागमनमा समेत समस्या भएको थियो । शुक्रबार राती वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले पत्रकार आचार्य सवार लुम्बिनी३ प ३८८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनास्थलबाट प्रहरीले उनलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक पत्रकार आचार्यका आफन्तहरूले भने प्रहरीले प्रमाण मेटाउने काम गरेको र मुचुल्का नउठाई घटनास्थलमा पानी हालेको आरोप लगाएका छन् । उनीहरूले आवश्यक अनुसन्धानको माग गर्दै आन्दोलन चर्काएका थिए । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगरातीले दुर्घटनास्थलबाट घाइते आचार्यलाई तत्काल अस्पताल पु¥याएर मानवीय धर्म निभाउँदा उल्टै प्रहरीमाथि आरोप लगाइएको बताए ।

मृतक आचार्य कालीकोटको रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष समेत थिए । मृतकका आफन्तहरूले शनिबार साँझदेखि मात्रै प्रर्दशन रोकेका थिए । पत्रकार आचार्यको आज सुर्खेतमा नै अन्तिम दाहसंस्कार गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार