हुम्ला ।
हुम्लाबाट नेपालगन्जका लागि हुने हवाई उडानको टिकटमा कोटा अर्थात् भागबण्डा प्रणाली लागू गर्ने निर्णय कार्यान्वयन गरिएको छ । थप व्यवस्थित र स्थानीयवासीका लागि सहज बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले लागू गरेको नयाँ कोटा प्रणाली कार्यान्वयनमा आएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा कात्तिक २९ गते बसेको सरोकारवालाहरूको सर्वपक्षीय बैठकले सिमकोट–नेपालगन्ज हवाई टिकटमा कोटा प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।
लामो समयदेखि हवाई टिकट पाउन स्थानीयवासीलाई कठिनाइ भएको र टिकट वितरणमा अपारदर्शीता बढेको गुनासो आएपछि जिल्ला प्रशासनले यो निर्णय कार्यान्वयन गरेको हो । प्रशासनको निर्णयअनुुसार बिरामीका लागि प्रत्येक उडानमा दुुई सिट भाग लगाइएको छ भने सरकारी कर्मचारीका लागि तीन सिट दिइएको छ । सरकारी कामको सिलसिलामा यात्रा गर्ने कर्मचारीहरूका लागि तीन सिट निर्धारण गरिएको हो । यी सिटहरूको सिफारिस र व्यवस्थापन जिल्ला प्रशासनले गर्ने निर्णयमा उल्लेख छ ।
यस्तै एयरलाइन्सले अनलाइन प्रणालीमा तनि सिट वितरण गर्न पाउने उल्लेख छ । निर्णयमा भनिएको छ, ‘एयरलाइन्स कम्पनीहरूले आफ्ना उडानका लागि तीन सिट अनलाइन प्रणालीमार्फत वितरण गर्न पाउनेछन् ।’ एयरलाइन्सले अग्रिम सूचनाका साथ यी सिटहरू खुलाउनुपर्ने छ । यदी इन्टरनेटको पहुँच नभएको अवस्थामा भने भौतिक लाइनमार्फत पनि सिट उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।
सिमकोट गाउँपालिकाका वडालाई दुुई सिट छुट्याइएको छ । सिमकोट गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि वडा नम्बर ५ र वडा नम्बर ६ लाई एक–एक सिट उपलब्ध गराउने निर्णय भएको प्रशासनले जनाएको छ । ‘यसका लागि सम्बन्धित वडा कार्यालयले यात्रुको सिफारिस गर्नुपर्ने निर्णयमा गरिएको छ । बाँकी रहेका सिटहरूलाई एयरलाइन्स कम्पनीहरूले ग्राहकमैत्री र सहजताको आधारमा वितरण गर्नसक्ने उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्