सुदूरपश्चिम ।
प्रदेशका नौवटै जिल्लामा रहेका स्वास्थ्य कार्यालयहरूको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रदर्शन मूल्यांकन सार्वजनिक भएको छ । शनिबारदेखि आइतबारसम्म प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा डोटीमा भएको समीक्षा गोष्ठीमा प्रदेश सरकार मातहतको जिल्लागत सेवा–उपलब्धता, कार्यक्रम कार्यान्वयन, सञ्चालित योजनाको प्रभावकारिता, प्रशासनिक पारदर्शिता तथा सामुदायिक स्वास्थ्य सूचकहरूलाई आधार मानेर अंक प्रदान गरेको हो ।
प्राप्त नतिजाले प्रदेशका स्वास्थ्य कार्यालयहरूबीच प्रतिस्पर्धा र सुधारको गति तीव्र हुँदै गएको देखाएको छ । सार्वजनिक गरिएको मूल्यांकनमा डडेलधुरा स्वास्थ्य कार्यालयले ८५.२० अंक प्राप्त गर्दै प्रदेशस्तरमै सर्वोच्च स्थान हासिल गरेको छ । डडेलधुराले विशेष गरी मातृ–शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, सरसफाइ तथा पोषण कार्यक्रम, अस्पताल–स्तरको रेफरल सेवा र तथ्यांक व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको उल्लेख छ । स्वास्थ्य कार्यालय डडेल्धुराले यस उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
डोटी (८२.५०), कैलाली (८१.७५), कञ्चनपुर (८१.५५) तथा बैतडी (८१.४०) यी चारवटै जिल्लाले ‘ए’ ग्रेड प्राप्त गरेका छन् । बझाङ (८०.०७), दार्चुला (७९.६८) तथा अछाम (७७.९७) स्वास्थ्य कार्यालयले ‘ए’ ग्रेड प्राप्त गरेका छन् । यी तीन जिल्लामा पूर्वाधार विस्तार, दक्ष जनशक्तिको उपलब्धता र ग्रामीण भेगसम्म सेवाको पहुँच पु¥याउन कठिनाइ कायम रहेको देखिन्छ । सूचीबद्ध जिल्लामध्ये सबैभन्दा कम अंक ७७.०२ बाजुरा स्वास्थ्य कार्यालयको रहेको छ ।
यो वर्षको मूल्यांकनले स्वास्थ्य कार्यालयहरूले विगत वर्षको तुलनामा प्रशासनिक पारदर्शिता, तथ्यांक डिजिटल रिपोर्टिङ, प्राथमिक स्वास्थ्य सेवा र पोषण–सम्बन्धी सूचकहरूमा उल्लेखनीय सुधार देखाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर खगेन्द्र बमका अनुसार डिजिटल प्रणाली विस्तारपश्चात् डेटा व्यवस्थापन सहज भएको र त्यसले कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाएको छ । यद्यपि, धेरै ग्रामीण जिल्लाहरूमा स्वास्थ्यकर्मी अभाव, औषधि आपूर्ति, यातायात कठिनाइ र प्रशासकीय समन्वय अझै पनि मुख्य चुनौतीहरूका रूपमा कायम रहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्