गुल्मी, पाल्पा र अर्घाखाँची सुन्तला उत्पादनमा अग्रणी



श्यामलाल पोखरेल । बुटवल ।

गुल्मी, पाल्पा र अर्घाखाँची सुन्तला उत्पादनको हिसाबले लुम्बिनीमा अग्रणी जिल्ला पर्दछन् । यि तीन जिल्ला सुन्तलाका लागि पकेट क्षेत्र पनि मानिन्छ । प्युठान, रोल्पा र रूकुम पूर्व जिल्लामा पनि सुन्तला उत्पादन हुने भए पनि लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र अर्घाखाँची सुन्तला बढी फल्ने भएकाले सुन्तला फल्ने जिल्ला भनेर चिनिन्छन् । गुल्मी, पाल्पा र अर्घाखाँचीमा उत्पादन हुने सुन्तलाको मुख्य बजार बुटवल हो ।

प्युठान र रोल्पाको तुलनामा गुल्मी पाल्पा, अर्घाखाँचीमा बढी सुन्तला उत्पादन हुने अर्घाखाँचीका सुन्तला कृषक भिमप्रसाद खनालले बताए । मौसमजन्य सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि गुल्मी, पाल्पा र अर्घाखाँचीमा कृषकहरू सुन्तला खेतीप्रति बढी आर्कषित बनेको कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् । बोटमा सुन्तला फलेपछि व्यपारीहरू सुन्तला खरिद गर्न घरघरमै आउने र घरबाटै बिक्री नभए बुटवल पठाउने गरिएको अर्घाखाँची लामडाँडाका कृषक लालमणी खनालले बताए ।

बोटमै बिक्री गर्दा मूल्य नपर्ने भएकाले मुख्य बजार बुटवल भएको बताउँदै कृषक खनालले भने, ‘बोटबाटै बेच्दा सित्तैमा बेच्नु पर्ने र बुटवलमा केही बढी मूल्य पाउने भएकाले सुन्तला फलेपछि बुटवलको आस लाउँछ ।’ सुन्तलाको यस वर्षको सिजन सुरु भैसकेको छ । बुटवलमा केही दिन यतादेखि सुन्तलाको व्यापार बढ्दो छ । मण्डीदेखि हरेक पसल र सडक किनारमा बिक्रीका लागि राखिएका सुन्तला जताततै देख्न सकिन्छ।

विशेषगरी गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, सल्यान, स्याङ्जा लगायतका पहाडी जिल्लामा फलेका सुन्तला बुटवलमा बिक्री वितरण भैरहेको छ । सिजन अनुसारको फलफूल भएकाले सुन्तलाप्रति उपभोक्ता पनि आर्कषित छन् । राम्रोसँग सुन्तला उत्पादन हुने गुल्मीमा गत वर्ष २४ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गुल्मीमा सुन्तला उत्पादनको डाटा संकलन हुन नसके पनि सुन्तला उत्पादनमा कमी नभएको ज्ञान केन्द्रले जनाएको छ ।

गुल्मीको कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार उत्पादन भएको आधाभन्दा बढी सुन्तला जिल्ला बाहिर जाने र बढी सुन्तला बुटवलमा खपत हुने गर्दछ । गुल्मीमा ९५ प्रतिशतभन्दा बढी सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाको बोटले समयसम्म फल दिने गर्दछन् । गुल्मीमा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गौडाकोट, काली गण्डकीको अर्बेनी, जयखानी, चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन् ।

गुल्मीको ३७ वटा वडामा सुन्तला जातको फलफूल जोन कार्यक्रम लागू गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला उत्पादनले फड्को मार्दै गएको पाल्पामा १४ सय बढी हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पाल्पा कार्यालाय प्रमुख अनिता पाण्डेले बताइन । ज्ञान केन्द्रका अनुसार २०८०–०८१ मा १७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकाले त्यसपछिको डाटा संकलन गर्न केही दिन लाग्ने भएपनि सुन्तला उत्पादन बढेको छ र कृषकहरू सुन्तलाप्रति धेरै आर्कषित छन् ।

१० स्थानीय तह रहेको पाल्पाका तिनाउ र रामपुरबाहेक अन्य ८ वटा पालिकाको भूभागमा सुन्तला उत्पादन हुने गर्दछ । पाल्पाको रिब्दीकोट, बगनसकाली, रम्भादेवी, तानसेन, माथागढीमा अत्याधिक सुन्तला उत्पादन हुने गर्दछ । पाल्पाको उत्पादन हुने सुन्तलाको मुख्य बजार बुटवल भए पनि बुटवलभन्दा बाहिर पनि पठाउने गरिएको रिब्दीकोटका कृषक मोहन श्रेष्ठले बताए ।

यस्तै अर्घाखाँची पनि सुन्तला उत्पादनका लागि लुम्बिनी प्रदेशमा अग्रणी जिल्ला पर्दछ । अर्घाखाँचीको पाणेनी र मालारानीमा बढी मात्रामा सुन्तला उत्पादन हुने गर्दछ । जिल्लाको सबैजसो ठाउँमा सुन्तला उत्पादन हुने भए पनि पाणेनी र मालारानीमा राम्रो उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी वासुदेव पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ९ सय ३२ हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ । गत वर्ष ९ हजार ८ सय मेट्रिकटन उत्पादन भएको र यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएको छ । सुन्तलाको बोटको सङ्ख्या वृद्धि र फलेको देख्दा पनि उत्पादन बढ्ने सहजै अनुमान गर्न सकिन्छ । सुन्तला उत्पादनको डाटा संकलन गर्ने काम भैरहेकाले ठ्याक्कै भन्न नसकिए पनि गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादन अर्घाखाँचीमा बढ्ने ज्ञान केन्द्रले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार