सुदूरपश्चिममा थपिए ४६ हजार मतदाता



सुदूरपश्चिम ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यीमध्ये अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीमा अन्य जिल्लाको तुलनामा बढी मतदाता थपिएका छन् ।

कैलालीमा १८ हजार २१३, कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा २ हजार ६५२ र दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन् । यस्तै, डडेलधुरामा १ हजार ८९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७८ र बाजुरामा १ हजार ५१७ गरी जम्मा ४६ हजार २० नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताए । योसँगै सुदूरपश्चिम कूल मतदाता सङ्ख्या १७ लाख १५ हजार ४३१ पुगेको छ ।

०७९ को निर्वाचनमा प्रदेशमा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार ४११ थियो । नयाँ दर्ता भएकामध्ये युवा उमेर समूहको सङ्ख्या धेरै रहेको कार्यालय प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार अहिले निर्वाचन कार्यालयहरूमा संकलित नामावली रुजु गर्ने कामसँगै निर्वाचनको तयारी पनि बढाइएको छ । ‘संकलित नामावली रुजु गर्ने, मतदाता सूची अद्यावधिक गर्ने तथा मतदान सामग्री व्यवस्थापन गर्ने काम निरन्तर छ, आगामी निर्वाचन व्यवस्थित बनाउन हामी पूर्णरूपमा सक्रिय छौँ,’ भट्टले भने ।

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदाता ११ हजार ७०९ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने छ हजार ४८६ सहित रहेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये छ हजार ८३५ पुरुष र पाँच हजार ८७४ महिला छन् । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी शाहीको भनाइ छ । उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै अझै पनि धेरैको नाम छुटेको हुनसक्ने बताए । ‘जिल्लामा नाम दर्ता गराउनेमा अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका छन्,’ उनले भने ।

यहाँ २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४ मतदाता थिए । आगामी फागुन २१ हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको थियो । आठ स्थानीय तह रहेको बाँकेमा निर्वाचन कार्यालयमा नयाँ नाम दर्ता गराउनेमा नेपालगन्ज र कोहलपुर नगरपालिकाका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार