दुई महिनापछि नापी कार्यालयको सेवा सुरु



सुर्खेत ।

नापी कार्यालय सुर्खेतले दुई महिनापछि आफ्नो सेवा प्रवाह सुरु गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट कार्यालय क्षति भएपछि सेवा प्रवाह ठप्प भएको थियो । मंसिर १ गतेदेखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) सेवा सुरु गरिएको कार्यालयले जनाएको छ । तर अन्य सेवा सञ्चालन गर्न अझैपनि महिनौँ समय लाग्ने जनाइएको छ ।

आगजनीबाट पूर्णरूपमा ध्वस्त भएको कार्यालयमा तत्काल वायरिङ र नेटवर्किङको काम सकिएपछि यो सेवा मात्र सञ्चालन गर्न सकिएको कार्यालयले जनाएको छ । नापी कार्यालयका प्रमुख दिनेशकुमार भण्डारीका अनुसार अन्य सेवा सञ्चालन गर्न अझै केही समय लाग्ने देखिन्छ । बैंकबाट ऋण लिन आवश्यक पर्ने अनलाइनमा उपलब्ध कित्ताको नक्सा प्रिन्ट गरेर दिने सेवा अहिले सञ्चालन गरिएको उनले बताए ।

तर सेवाग्राहीलाई आवश्यक पर्ने गाउँ ब्लक, फाइल नक्सा, भूमि आयोगबाट तयार भएको नक्सा र पुनः नापी बमोजिमको नक्सा तथा कित्ताकाट हाललाई सेवा सुचारु गर्न नसकिएको कार्यालयले जनाएको छ । पूर्णरूपमा कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको हुँदा पूर्वाधार तयार भएलगत्तै सेवा सुचारु गरिने नापी प्रमुख भण्डारीले जानकारी दिए ।

उनका अनुसार पूर्वाधार तयार गर्न भने अझै समय लाग्ने देखिन्छ । ‘कार्यालयमा अझै पनि स्क्यानर प्रिन्टरको अभाव रहेको छ । क्षतिग्रस्त भएका संरचना विभिन्न निकायबाट माग गर्दै ल्याएपनि स्क्यानर र प्रिन्टर जडान भएको छैन,’ उनले भने, ‘हार्डडिस्क रिकभर गर्ने काम पनि हुँदैछ । तर अहिलेसम्म पूरा भएको छैन । कार्यालयले पछि बचेका स्थानको हातले लेखेर प्लट रजिस्टरको पुनस्र्थापनाको काम गरेको थियो ।’

आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । भने नयाँ रजिस्टर विभागबाट मगाएर हातले पुनस्र्थापना गर्ने काम कार्यालयले गरेको छ । जलेका कागजात करिब पाँच प्रतिशत मात्रै काम लाग्ने खालका बचेको र अन्य सबै जलेर खरानी भएको कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार