भोजपुर ।
आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन कार्यालयले शुक्रबार मतदानस्थल र केन्द्रका बारेमा आवश्यक निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनका लागि पुरानै ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस गर्ने निर्णय गरेको छ ।
मतदानस्थल र केन्द्रमा कुनै समस्या नभएको भन्दै पछि विषेश अवस्था देखिएमा पुनः बैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । उनले निर्वाचनका लागि गरिएको निर्णयअनुसार निर्वाचन आयोगलाई सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।
मतदाता नामावली संकलन गर्ने काम शुक्रबारदेखि सकिएको बताउँदै आगामी मंसिर २० गतेदेखि ३० गतेसम्म नामावलीमा त्रुटी सच्याउने र दाबी विरोधको समय राखिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार जिल्ला निर्वाचन कार्यालय अहिले चुनावको तयारीमा लागिपरेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सिफारिस समितिको बैठकमा जिल्लास्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो । भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि एउटा र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र छन् ।









प्रतिक्रिया दिनुहोस्