सिमकोट र खार्पुनाथका किसानलाई पाल सहयोग



हुम्ला ।

जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका सहकारीमा आबद्ध किसानलाई प्लास्टिकका पाल सहयोग गरिएको छ । बेमौसमी तरकारी उत्पादन गरेर आयआर्जन बढाउनका लागि लागत साझेदारीमा पाल प्रदान गरिएका हुन् । खार्पुनाथ गाउँपालिका–४ को नल्न गाउँकी रुघु शाहीले सहयोगी निकाय र आफ्नो लागत साझेदारी पर्नेगरी प्लास्टिकका पाल उपलब्ध भएको बताइन् ।

ग्रिनहाउसका लागि संरचना निर्माण गरिरहेको उनले बताइन् । ग्रिनहाउसमा विशेष गरी साग र धनियाँ उत्पादन गरेर बिक्री गर्ने उनको तयारी छ । सिमकोट गाउँपलिका– ५ कि गीता रोकायाले आफ्नो र सहयोगी संस्थाको आर्थिक सहयोगमा पाल पाएपछि ग्रिनहाउस निर्माण सुरु गरिएको जानकारी दिइन् । ग्रिनहाउसमा साग उत्पादन गरेर पुस महिनासम्म बिक्री गरेर आम्दानी बढाउने उनको तयारी छ ।

लागत साझेदारीमा प्लास्टिकको पालसहकारीमा आबद्ध ३८ जना किसानलाई प्रदान गरिएको स्नोल्याण्ड एकीकृत विकास केन्द्रले जनाएको छ। कृषि प्राविधिक जङ्गबहादुर शाहीका अनुसार पालको मूल्यमा ४० प्रतिशत किसान र ६० प्रतिशत परियोजनाले लागत व्यहोर्ने उल्लेख छ । सिमकोट गाउँपालिकाका बुराउसे, माथिल्लो गाउँ, तल्लो गाउँ र हिल्दुम तथा खार्पुनाथ गाउँपालिकाका नल्ना, छिप्रा र माझा बस्तीका गरि ३८ जना किसानलाई पाल प्रदान गरिएको हो । यो पाल लिएर किसानले ग्रिनहाउस निर्माण गरिसकेपछि तरकारीको बीउ भने निःशुल्क प्रदान गरिनेछ । यसका लागि एकिकृत सामुदायिक विकास परियोजनाले चार लाख एकानब्बै हजार रूपैयाँ लगानी लागेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार