जुम्ला ।
सिंजा गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिए पनि निर्माण कम्पनीले तोकेको समयभित्र निर्माण नगर्दा सेवा प्रवाहमा समस्या भएको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिए । भवन पूरै निर्माण नहुँदा पालिकाका विषयगत शाखा भाडामा बस्न बाध्य भएका छन् ।
बारम्बार निर्माण कम्पनीलाई ताकेता गर्दा पनि सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ । विसं २०७९ चैत १३ गते आरएनविजेभी शङ्खमूल ललितपुरसँग २०८१ असोज ३० गते अर्थात् १६ महिनाको समयावधिमा प्रशासकीय भवन निर्माण सम्पन्न गर्नेगरी भ्याटसहित चार करोड ५८ लाखमा सम्झौता भएको थियो । हालसम्म जम्मा दुई करोड ३९ लाख गाउँपालिकाले निर्माण कम्पनीलाई भुक्तानीसमेत दिएको छ ।
१६ महिनाभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि विभिन्न चरणमा पालिकाले म्याद थप गरे पनि निर्माण कम्पनीले काम गर्न नसक्दा गाउँपालिकाको प्रशासकीय भवन अलपत्र परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए । निर्माण कम्पनीका ठेकेदार सुरेन्द्र महतका अनुसार गाउँपालिकाले बजेटको सुनिश्चित नगर्दा काम सम्पन्न नभएको हो । करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ३० प्रतिशत काम मात्र रहेको छ ।
सम्झौताअनुसार गाउँपालिकाले भुक्तानीमा ढिलो गर्दा यो समस्या आएको आरएनविजेभी निर्माण कम्पनीका ठेकेदार महतले बताए । विविध कारणले निर्माण कार्य सम्पन्न गर्न नसकी तेस्रो पटक उक्त निर्माण कम्पनीलाई म्याद थप गरी यही मंसिर ३० गतेसम्म कार्य सम्पन्न गर्ने गरी केठेदारलाई निर्देशन दिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
तीन पटकसम्म म्याद थप गरिए पनि निर्माण कम्पनीको लापरबाहीले काम पूरा नगर्दा गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अलपत्र अवस्थामा रहेको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पालिकाले तीनपटक म्याद थप गरेर काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारको लापरवाहीका कारण काम सम्पन्न नगरी भवन अलपत्र नै पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । ठेकेदार कम्पनीले तीनपटक थपिएको म्याद भित्र पनि काम सम्पन्न नभएको खण्डमा चौथो पटक म्याद थप्न नसकिने सिंजा गाउँपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्