गाउँपालिकाको ‘प्रतिक चिन्ह’ प्रयोगमा ल्याउँदै नरैनापुर



कोहलपुर (बाँके) ।

बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नै प्रतिक चिन्ह लोगो प्रयोगमा ल्याउँदैछ । गाउँपालिकाको पहिचान, ऐतिहासिकता, जनजीवन, भूगोल, आर्थिक सामाजिक पक्ष समेटिएको लोगो प्रयोगमा ल्याउने तयारी गरेको हो । यसअघि गाउँपालिकाले भदौ ३ गते प्रतिक चिन्ह लोगो निर्माण गरी पेस सूचना जारी गरेको थियो । सूचना जारी भएको ३० दिनभित्र आवश्यक सर्तसहित गाउँपालिकामा प्रस्ताव पेश गर्नुपर्ने उल्लेख थियो ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीका अनुसार निर्धारित समयमा चार तीन जनाले प्रस्ताव पेश गरेका थिए । उनका अनुसार प्रस्ताव पेश गर्नेहरूमा नरैनापुर गाउँपालिका वडा नम्बर ३ का इब्राहिम खाँ, कोहलपुर नगरपालिका वडा नम्बर ५ का पुजन रेग्मी र कोहलपुर नगरपालिका वडा नम्बर ४ का त्रिलोचन उपाध्याय रहेका थिए । सूचनामा गाउँपालिकाको नाम, भौगोलिक नक्सा, राष्ट्रिय झण्डा, गाउँपालिकाको नारा र स्थापना मिति अनिवार्य समावेश गर्नुपर्ने, गाउँपालिकाको पहिचान, ऐतिहासिकता र साँस्कृतिक चिनारी समावेश हुनुपर्ने उल्लेख गरिएको थियो । सोही अनुसार जम्मा तीन जनाको आवेदन परेको उनले बताइन् ।

‘हामीले सूचना जारी गरेका थियौँ । निर्धारित समयमा तीन जनाको आवेदन परेको थियो । आवेदनका सम्बन्धमा गाउँपालिकामा छलफल र निर्णय भइसकेको छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले भने, ‘केही दिनअघि बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरिसकेको अवस्था हो ।’ उनका अनुसार तीनजनामध्ये कोहलपुर नगरपालिका वडा नम्बर ५ का पुजन रेग्मीको लोगो छनौट गर्ने निर्णय भएको छ ।

रेग्मी आफँैले उक्त लागो बनाएको पाइएको थियो भने अन्य दुई जनाले एआईको प्रयोग गरेको बनाएको पाइएको थियो । मंसिर महिनाभित्र औपचारिक रूपमा प्रतिक चिन्ह सार्वजनिक गर्ने र प्रयोगमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ । प्रतिक चिन्हको सर्वाधिकार गाउँपालिकासँग रहनेछ । छनौट भएको प्रतिक चिन्ह निर्माणकर्तालाई २० हजारसहित गाउँपालिकाले पुरस्कृतसमेत गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार