शेरबहादुर ऐर । कैलाली ।
कैलालीको स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनमा गौरिगंगा नगरपालिकाको स्वास्थ्य महाशाखा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८१–०८२ को जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा स्वास्थ्य कार्यालय कैलालीले मूल्यांकनका आधारमा गौरिगंगा नगरपालिकालाई उत्कृष्ट भएको भन्दै सम्मान गरेको हो । स्वास्थ्य सेवा प्रवद्र्धन, कार्यक्रम कार्यान्वयन, खोप उपलब्धता, पोषण, सरसफाइ तथा नियमित अनुगमनजस्ता सूचकहरूको समग्र मूल्यांकनको आधारमा मंगलबार गौरिगंगासहित कैलालीका उत्कृष्ट तीन स्थानीय तहलाई सम्मान गरेको थियो ।
स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा पहुँच विस्तार तथा परिणाममुखी प्रगति सूचकका आधारमा गौरिगंगाले पहिलो स्थान हासिल गर्न सफल भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । स्वास्थ्य प्रवद्र्धनमा देखाएको उल्लेखनीय प्रतिबद्धताका कारण बर्दगोरिया दोस्रो स्थानमा रहेको थियो भने निजी स्वास्थ्य संस्था अनुगमन, स्वास्थ्य सेवा सहजता तथा नियमित अनुगमन प्रणालीका कारण टिकापुर तेस्रो उत्कृष्ट स्थानीय तह बन्यो ।
उनले भने, ‘आधारभुत स्वास्थ्यका सूचक मूल्यांकनका आधारमा यस वर्ष तीन वटा स्थानीय तह उत्कृष्ट बनेका छन् । अन्य स्थानीय तहको सूचकहरू पनि सन्तोषजनक रहेको छ ।’ साथैै, स्वास्थ्य कार्यालय कैलालीले कार्यक्रममा कैलालीका १३ वटा स्थानीय तहका उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूलाई पनि सम्मानित गरेको थियो । यसैगरी धनगढी उपमहानगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरेको तथा टिकापुर नगरपालिकाले निजी स्वास्थ्य संस्थामाथि अनुगमन तीव्र पारेको उल्लेखनीय अभ्यासका रूपमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्काले उत्कृष्ट स्थानीय तहहरू, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयमसेवकलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री खडकाले स्वास्थ्य क्षेत्रलाई प्रादेशिक समृद्धिको महत्वपूर्ण आधार स्तम्भ भन्दै महिला स्वास्थ्य स्वयंसेवकको भूमिकाको उच्च प्रशंसा गरे । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेवकले जुन स्तरमा मेहनत गरेका छन्, सोहीअनुसार सेवा–सुविधा दिन राज्य असफल भइरहेको छ ।
उनले भने, ‘अझ उत्कृष्ट काम गर्न ऊर्जा मिलोस् ।’ उनले स्वस्थ बालकलाई सक्षम बनाई प्रदेशलाई समृद्धिको बाटोतर्फ डोहो¥याउने मन्त्रालयको लक्ष्य रहेको बताए । मन्त्री खड्काले भने, ‘स्वास्थ्य प्रणालीको मेरुदण्ड आधारभूत स्वास्थ्य सेवा सुधार नै हो ।’ उनले बजेट निर्माणमा राजनीतिक दबाब गहिरो रहेको उल्लेख गर्दै भने, ‘सांसदको विरोध खेप्न नसक्ने गरी बजेट बनाउनुपर्ने अवस्था छ । जसका कारण स्वास्थ्य क्षेत्रतर्फ आवश्यक बजेट विनियोजन गर्न सकिएको छैन ।’
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक झनक ढुङ्गानाले स्वास्थ्य सेवा विस्तार र स्रोत–साधन व्यवस्थापनमा स्थानीय तहको समन्वय अत्यावश्यक रहेको बताए । उनले भने, ‘अहिले आवश्यक बजेट, आधारभूत औषधिको समयमै व्यवस्थापन नहुनु, जनप्रतिनिधिको प्राथमिकतामा स्वास्थ्य क्षेत्र नपर्नु लगायतले स्वास्थ्य क्षेत्रको सुधारमा समस्या भइरहेको छ ।’
गोदावरी नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज अवस्थीले उत्कृष्ट अभ्यासलाई संस्थागत बनाउँदै आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्नुपर्ने बताए । महिला स्वास्थ्य स्वयंसेवक शान्ति लामाले महिला स्वास्थ्य स्वयम्सेवकहरू दिनरात खटिए पनि सेवा–सुविधामा अझै सुधार आवश्यक रहेको बताइन् । उनले जनप्रतिनिधि, कर्मचारीको कमजोर बुझाइका कारण आफूहरू समस्यामा पर्ने गरेको गुनासो गरिन् ।
मंगलबार सम्पन्न समिक्षा तथा गोष्ठी कार्यक्रम कार्यालय प्रमुख कुँवरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वास्थ्य प्रवद्र्धन केन्द्र कैलालीका निर्देशक तेजबिक्रम शाही, कैलालीका १३ वटै स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखहरू, आधारभूत स्वास्थ्य चौकीका प्रमुख तथा कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका, विभिन्न दातृ निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्