न्यून जनशक्ति र संरचनाको अभावमा सेतीको सेवा प्रवाहमा कठिनाइ



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिमको प्रमुख स्वास्थ्य संस्था सेती प्रादेशिक अस्पताल संरचनागत र जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भोगिरहने गरेको छ । केही दिनअघि युवाहरूको स्वस्फूर्त एउटा समूहले अस्पतालको सेवा प्रवाह र वर्तमान अवस्थाबारे सोधपुछ गर्दा न्यून जनशक्ति, भौतिक संरचनाको अभाव र अत्यधिक बिरामीहरूको चापका बीच सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

बिष्णु खड्का, नितिश जोशी, सन्तोष रावल, किशोर बिष्ट लगायतका युवाहरूको एक समूह उक्त अस्पतालको अवस्थाबारे बुझ्न गएका थिए । अवलोकनकर्ता सन्तोष रावलका अनुसार बिरामीहरूसँग कुरा गर्दा बहिरंग सेवा (ओपिडी)मा घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता, पिउने पानीको सही व्यवस्थापन नभएको, प्रसूति वार्डमा सुत्केरी महिलाहरूले अनावश्यक झन्झट खेप्नुपर्ने, बच्चा काखमा समातेर लाइन लाग्नुपर्ने लगायतका बाध्यता रहेको दुःख सुनाएका थिए ।

अवलोकनका क्रममा युवाहरूसँग छलफल गर्दै अस्पताल प्रशासन र वार्ड इन्चार्जहरूले पनि विभिन्न समस्या तथा आवश्यकता औँल्याएका छन् । सेती अस्पतालका अस्पताल व्यवस्थापक वेदप्रकाश जोशीले सामान्य ओपिडी, शल्यक्रिया, प्रसूति र फार्मेसी जस्ता बिरामीहरूको अत्यधिक चाप हुने सेवाका लागि भौतिक संरचना र जनशक्तिको चरम अभाव खेपिरहेको बताएका छन् ।

‘बिरामीहरूको चाप अनुसारको संरचना हामीसँग नभएका कारण हामी समस्यामा छौँ,’ उनले भने, ‘तथापि लाइनको व्यवस्थापनका लागि काउण्टरहरू थप गरिएको छ ।’ अस्पताल परिसरमै करिब आठ वर्षअघि निर्माण सम्पन्न भएको नयाँ भवन अझै निर्माण व्यवसायीले हस्तान्तरण गरेको छैन । प्रसूति जस्तो संवेदनशील सेवा वर्षौँ पुरानो नाजुक भवनबाट दिनुपर्ने बाध्यता छ ।

देशभरमै सबैभन्दा धेरै प्रसूति गराउने अस्पतालहरूमध्ये सेती प्रदेशिक अस्पताल पनि एक हो । गत साउनमा सेती अस्पतालमा एकैदिन १८ महिलाको शल्यक्रियामार्फत सफल प्रसूति गराइएको थियो । माघ, फागुनमा फेरी त्यही अनुपातमा चाप बढने गर्दछ । तर उक्त अस्पतालको प्रसूति सेवा चिकित्सक, नर्स र सेवाग्रही सबैको लागी कठिन छ । सीमित स्रोत साधन र न्यून जनशक्तिका साथै सीमित बेड सङ्ख्या रहेको छ । पुरानो जीर्ण भवनबाट सेवा प्रदान भइरहेको छ । ‘वर्षा याममा भवनभित्रै पानी पस्छ, खुट्टामा बुट लगाएर काम गर्नु पर्छ । तर पनि जे छ, जस्तो अवस्थामा छ त्यसैबाट सेवा दिइरहेका छौँ,’ व्यवस्थापक जोशीले भने ।

त्यस्तै, सेती प्रादेशिक अस्पतालकी अस्पताल नर्सिङ प्रशासक कमला बिष्टले नर्सहरूमाथि अत्यधिक भार र बेड सङ्ख्यामा असन्तुलन रहेको बताइन् । उनका अनुसार ५० शय्याको रूपमा स्थापना गरिएको अस्पतालले आफ्नै पहलमा ७५ बेड थप गरी १२५ बेडमा सेवा सञ्चालन गर्दै आएको थियो । तर बिरामीको अत्यधिक चापका कारण अहिले अस्पतालले ३ सय १६ बेडमा सेवा दिन बाध्य भएको छ । यसले व्यवस्थापन र जनशक्ति दुवैमा ठूलो दबाब सिर्जना गरेको छ ।

‘विक्रम सम्बत् २०५५ सालमा बनेको अस्पताल सञ्चालन नियमावली अनुसारको दरबन्दी छ, सरकारी मापदण्डअनुसार आईसीयुमा एक नर्सले एक बेड (बिरामी) र डायलाइसिसमा एक नर्सले दुई मेसिन हर्ने हो,प’ उनले भनिन्, ‘सेतीमा २० बेडको डायलाइसिस सेवा छ, बिरामीहरूको चाप धेरे छ । तर १३ जनामात्रै कर्मचारी छन, त्यसलाई चार सिफ्टमा चलाउँछौँ ।’ प्रसूति गराउँदा पनि महिलालाई व्यथा लाग्दा देखि सुत्केरी भइसक्दासम्म एक नर्सले एक जना हेर्ने हो, तर सेतीमा दुईजना नर्सले मात्रै बिरामी भर्नादेखि व्यथा जाँच र सुत्केरीसम्मको सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

प्रादेशीक अस्पतालस्तरको स्तरोन्नति गर्न नसक्दा आफूहरूले चाहेर पनि गुणस्तरीय सेवाको सन्तुलन मिलाउन नसकिरहेको उनले दुःख व्यक्त गरिन् । सुदूरपश्चिम प्रदेशका जोखिमग्रस्त बिरामीहरूका लागि अन्य प्रादेशिक अस्पतालहरूले सञ्चालन गर्न नसकेका सेवाहरू सेतीमा छन्, तर पर्याप्त जनशक्ति छैन । ‘हामी लामो समयदेखि ५० बेडको सुविधामा सञ्चालनमा छौँ,’ उनले भनिन्, ‘सेतीमा १८ जना स्टाफ नर्स, ४ जना अनमी, २ जना नर्सिङ अधिकृत र एक जना नर्सिङ प्रशासकको मात्रै दरबन्दी छ, बाँकी सबै आकस्मिक सेवा दिने ठाउँमा करारका कर्मचारी मात्रै छन् ।

रेडियोलोजी र ल्याबबाहेक सबै विभागमा नर्सले सम्हालेको छ ।’ गुणस्तरीय स्वास्थ्य सेवा सेवाग्राहीको आधारभूत अधिकार भएपनि नीतिगत र संरचनागत अभावका कारण परिपूर्ति गर्न नसकिएको उनको भनाइ छ । बिहान, बेलुकी र रातिका सबै सिफ्ट सीमित जनशक्तिको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । छलफलका क्रममा उठेका समस्यामध्ये केही विषय तत्काल अस्पताल प्रशासनले समाधान गर्न सक्ने प्रकारका रहेका छन् भने केही विषय सम्बन्धित निकायको नीतिगत तहमा पु¥याउनुपर्ने निष्कर्ष निकालिएको सन्तोष रावलले बताए ।

ति युवाहरूको समूह सेती अस्पताल र स्थानीय तहका स्वास्थ्य समस्या तथा सेती प्रादेशिक अस्पतालको सुदृढीकरणको माग लिएर प्रदेशको सामाजिक विकास मन्त्रालयमसम्म पुगेका थिए । सामाजिक विकासमन्त्री मेघराज खड्काले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयहरू तत्काल सम्बोधन गर्ने र बाँकी कुराहरूका लागि माथिल्लो निकायसँग पहल गर्ने आश्वसान दिएका छन् । बाँकी संरचनागत विकासका लागि सहरी विकास तथा भवन निर्माण कार्यालयलाई पनि झकझक्याउने उनीहरूले बताएका छन् ।

सामाजिक विकास मन्त्रालयमा मन्त्री मेघराज खड्कासँग एक सय २५ बेडका लागि मात्र स्वीकृत जनशक्तिले हाल तीन सय १६ बेडका बिरामीको उपचार गर्नुपर्दा पर्याप्त चिकित्सक, नर्स र सहयोगी कर्मचारीको अभावमा सेती अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमा असर परेको अस्पताल प्रशासनले जनाएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाका आर्थिकरूपमा कमजोर बिरामीहरू उपचारका लागि सेती अस्पतालमा आउने गरेका छन् । व्यापक सेवाको दायरा हुँदाहुँदै पनि अस्पतालको संरचना र स्रोतमा सुधार नआएको भन्दै युवाहरूले सरकारको ध्यानाकर्षण गराउन विभिन्न मागसहित सामाजिक विकासमन्त्री खड्कालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । अस्पतालका दीर्घकालीन समस्या समाधानका लागि अब मन्त्रालयस्तरमा पहल गरिने र आवश्यक नीतिगत निर्णयका लागि दबाब दिने तयारी गरिएको उनीहरूले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार