धनगढी ।
कैलालीको धनगढीबाट ९५ लाखको सामानसहित दुई जना पक्राउ परेका छन् । धनगढी बसपार्कमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका सञ्चालक २५ वर्षीय आसुतोषकुमार गुप्ता र धनगढी उपमहानगरपालिका–१९ खेदा निवासी ३३ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरिएको हो ।
गुप्ता भारतको लखीमपुर खीरीका बासिन्दा हुन् । मंगलबार धनगढीमा सशस्त्र प्रहरीले एक अपरेसन चलाएको थियो ।
सो क्रममा भारतबाट भन्सार छलेर ल्याउँदै गरेका मोबाइल पाट्र्ससहित सुरुमा चौधरीलाई पक्राउ गरिएको थियो । सशस्त्रको टोलीले उनलाई उत्तरबेहडीमा चेकजाँच गर्दा नौ लाख आठ हजार बढीको अवैध सामान फेला पारेपछि पक्राउ नै गरेको थियो । अनुसन्धानका क्रममा चौधरीले भारतबाट भन्सार छली सामान ल्याउने गरेको र मोबाइल पाटर््स धनगढीकै बसपार्कस्थित शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा बुझाउने गरेको बताएका थिए ।
त्यसपछि त्रिनगरस्थित सशस्त्र प्रहरीको टोली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले उक्त सप्लायर्समा छापा मारेको थियो । सो क्रममा भन्सार छलीको ८४ लाख ४२ हजार ५५० रूपैयाँ बराबरका मोबाइल पाटर््स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सम्पूर्ण सामानको मूल्य ९५ लाख बढी रहेको बताइएको छ । पक्राउ परेका दुबैै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्