श्यामलाल पोखरेल । बुटवल ।
बुटवलका सडक र गल्लीहरूमा छाडा कुकुरको बिगबिगी बढेको छ । सडकमा छोडिएका छाडा चौपायासँगै छाडा कुकुरको बिगबिगीले सडकयात्रीले सास्ती भोग्नुपरेको छ । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्रीले हैरानी खेप्न बाध्य भएका छन् भने कुकुरको टोकाइबाट पैदलयात्री घाइते भएका हुने गरेका छन् । सडक र गल्ली गल्लीमा लाइन लागेर हिँड्ने छाडा कुकुरका कारण बिहानमा मर्निङवाक हिँड्नेहरूले ठूलो सास्ती भोग्दै आएका छन् ।
त्यस्तै बिहानको स्कुल तथा कलेज जाने विद्यार्थीलाई पनि सडकका छाडा कुकुरहरूले सताउने गरेका छन् । बजारमा छाडा कुकुरको सङ्ख्या बाक्लै देखिन थालेका छन् भने घरमा पालेका कुकुरहरू पनि बिहानको समयमा छोड्ने गर्दा ति कुकुरले सडकयात्रीलार्ई टोक्ने गरेका छन् ।सडकयात्रीसँगै मोटरसाइकल, साइकल चालककहरूलाई लखेटी लखेटी झम्टने गर्दा सडक दुर्घटनाका घटनाहरू बढेको बुटवलका मिनराज पन्थीले बताए । कात्तिकमा मात्रै बिहानीको समयमा बुटवल बजारमा दर्जन बढीलाई कुकुरले टोकेको आफूले प्रत्यक्ष देखेको उनले बताए ।
बुटवलका सडकहरूमा बाक्लै कुकुरहरू देखिन थालेपछि नियन्त्रणका लागि योजना बनाइएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । सडकका छाडा कुकुरले सडकयात्रीलाई टोकेका घटनाहरू सुन्नमा आएको बताउँदै प्रवक्ता रानाले भने, ‘यसको निराकरणका लागि हामीले कार्यक्रम बनाएका छौँ, अब तत्काल सबैको साथ सहयोगमा कार्यान्वयन गर्नेछौँ ।’ बुटवल उपमहानगरपालिकाले सडकका कुकुरहरू छापेर रेबिजविरुद्धको खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यक्रम भने बर्सेनि गर्दै आएको छ ।
तर सडकका छाडा कुकुरहरू नियन्त्रण नगरेकाले सडकयात्री समस्या भोग्न बाध्य छन् । रुपन्देहीको मानपकडीका नरिश्वर मल्लाहले मोटरसाइकलमा तरकारी बोकेर कार्तिक २१ गते बिहानै बुटवल बजार आएका थिए । उनलाई कुकुरले झम्टेर दाइने खुट्टामा टोक्यो । उनका अनुसार मोटरसाइकल कुकुरसँग अल्झिएर पल्टियो भने कुकुरसँग जोगिन खोज्दा उनी पनि सडकमा लडे । तरकारी सडकमा यत्रतत्र पोखियो। मोटरसाइकलको लेगगाड भाँचियो, तरकारी नास भयो र कुुकुरले सामान्य दाँत गाडेपछि घाइते भएका उनले बिहानको समयमा बुटवलमा तरकारी विक्रीका लागि जान छोडेको गुनासो सुनाए ।
उनी एक पात्र मात्रै हुन् । कुकुरका कारण यस्ता थुप्रै घटना घट्ने गरेका छन् । आजभोलि बिहानको समयमा मर्निङवाकमा हिँड्नेहरूले हातमा लौरो लिएको दृश्य देख्न सकिन्छ । सडक र गल्लीका छाडा कुकुरहरूको उचित व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, जिल्ला प्रशासन र प्रहरी कार्यालयको भएपनि यी आधिकारिक निकायहरू मौन रहेको नारायण गौतमले बताए ।
बुटवल उपमहानगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको बताएको छ । यो कसरी र कहिलेदेखि कार्यान्वयन गर्ने हो त्यो भने हेर्न बाँकी छ । छाडा कुकुरका कारण बुटवल बजार अव्यवस्थित र दुर्घटनाको जोखिम बढेकाले कुकुरहरूको उचित व्यवस्थापन गर्न नगरवासीले उपमहानगरलाई आग्रह गरेका छन् ।
सडकका छाडा कुकुरले टोकेपछि रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुने भएकाले सचेत हुन स्वास्थ्यकर्मी वालकृष्ण कँडेलले बताए । सडकमा छाडा छोडिएका गाइगोरुका कारण असुरक्षित सडकयात्री केही महिना यतादेखि छाडा कुकुरका कारण पैदलयात्री, साइकल र मोटरसाइकल चालकहरू असुरक्षित बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्