ए डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव



काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव गरेको छ । खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री बब्लु गुप्ताले संयोजन गरेको छलफलमा एन्फा पदाधिकारी, ए डिभिजन क्लब प्रतिनिधि तथा फुटबल खेलाडी संघका पदाधिकारीसहितको छलफलमा एन्फाले ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको हो ।

सुरूमा मन्त्रीले एन्फा, खेलाडी र क्लबका प्रतिनिधिको कुरा सुनेका थिए । त्यसपछि मन्त्री गुप्ताले ए डिभिजन लिग गर्नका मिति प्रस्ताव गर्न एन्फालाई आग्रह गरेका थिए । त्यसपछि एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङले १२० दिनको समयमा ए डिभिजन लिग गराउन सकिने बताएका थिए । अहिलेको लिग होम एन्ड अवेका आधारमा हुनेछैन् ।

तर एकभन्दा बढी मैदानमा भने खेल गराउने प्रस्ताव छ । साथै यो सिजन राबल राउन्डको ए डिभिजन लिग गरिने पनि प्रस्ताव गरेको छ । प्रस्ताव गरिएको मितिमा लिग गराउनका लागि मन्त्रालयले अब १४ ए डिभिजन क्लबसँग छलफल गर्नेछ । त्यसपछि निर्णय गर्न एन्फालाई मन्त्रालयले निर्देशन दिनेछ । यसअघि एन्फा र १४ वटा ए डिभिजन क्लबबीच राष्ट्रिय लिग पुस पहिलो सातादेखि गर्ने सहमती भएको थियो ।

राष्ट्रिय लिगमा अघिल्लो संस्करणका शीर्ष ६ क्लब र जारी एन्फा प्रेसिडेन्ट लिगका शीर्ष ४ टोली गरी १० टोलीबीच प्रतिस्पर्धा गराउने तयारी थियो। तर यो सहमतिपछि नेपाल फुटबल खेलाडी संघ सडक आन्दोलनमा उत्रिएको थियो । खेलाडी संघले एन्फा मुख्यालयमा धर्ना दिएको थियो भने ए डिभिजन लिग गराउनु पर्ने मुख्य माग अघि सारेको थियो । त्यसपछि एन्फाले वार्तामा बोलाए पनि खेलाडी संघले प्रत्यक्ष प्रसारण गर्नु पर्ने माग राख्दा वार्ता भाँडिएको थियो । अब ए डिभिजन लिग गर्ने सहमति भएपछि राष्ट्रिय लिग भने पछि गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार