काठमाडौँ ।
वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई जाने तयारीमा रहेको नेपाली क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्न ढिलाइ हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली शुक्रबार बिहान युएई जाने कार्यक्रम थियो । तर भिसा आउन ढिलाइ भएपछि नेपाली टोलीको उडानको समय अनिश्चित भएको छ ।
‘अनलाइनबाट भिसा आवेदन दिन समस्या भएको सबैलाई थाहा नै छ । हामीले सबै भिसा प्रक्रिया पूरा गरिसक्यौँ । युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र आइसिसीसँग समन्वय भइरहेको छ,’ लामाले भने, ‘तर अहिलेसम्म भिसा नआएकाले शनिबार बिहान जान सम्भव भएन । भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ ।’ नेपाली टोलीले असोज ११ देखि वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्दैछ । त्यसको तयारीका लागि नेपाली टोली एक साताअघि नै त्यहाँ पुगेर अभ्यास गर्ने तयारी छ ।
नेपालले पहिलोपटक आइसिसीको पूर्ण सदस्यसँग टी–२० सिरिज खेल्न लागेको हो । ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजसँग सिरिज खेलेलगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी–२० विश्वकपमा छनोट हुनेछ ।
नेपाली टोली ः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम । वेस्ट इन्डिज टोलीः अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा,रामोन सिमोन्ड्स, शमर स्प्रिंगर ।









प्रतिक्रिया दिनुहोस्