कञ्चनपुर ।
कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन् । रजस्वला भएका बेला वर्षौँदेखि छुट्टै छाउगोठ बनाएर बस्दै आएका देवताका धामी मानिने वेदकोट नगरपालिका–१० चतहरीकी कलासा चुनाराले छाउगोठ भत्काउँदै वास्तवमै यो कुप्रथा भएकाले यसलाई हटाउनुपर्ने बताइन् । वर्षाैँदेखि छाउगोठमा बस्दै आएकी उनले रजस्वलाका बेला घरमै बस्ने प्रतिबद्धता जनाइन् ।
‘रजस्वला भएका बेला छुट्टै नबसे देवीदेवता रिसाउने अन्धविश्वासका कारण छाउगोठ नै बनाएर अलग्गै बस्दै आएका थियौँ’, उनले भनिन्, ‘यो त महिलाहरूमा गर्भधारणको प्रक्रिया भएकाले छुट्टै गोठ बनाउन जरुरी नभएको बुझेपछि छाउगोठ भत्काउन सहयोग गरेकी हुँ ।’ गत बिहीबार छाउगोठ भत्काउँदै सोही ठाउँका मिस्रा चुनाराले वर्षौँदेखि यो कुप्रथालाई त्याग्न नसकिएको बताइन् । ‘यसपटक जिल्लामा छाउगोठ हटाउने अभियान नै थालिँदा चेत खुलेको छ, अब मसहित छोरी, बुहारी कसैलाई पनि छाउगोठमा बस्न पठाउँदिन,’ उनले भनिन् ।
वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाउगोठ बारेर देवीदेवता खुसी हुने भन्ने गलत धारणाले महिलाहरू छुट्टै बस्दै आएकाले यसलाई मनैबाट हटाउनुपर्ने बताइन् । महिनावारी भएका बेला छुट्टै गोठ बनाएर बस्दै आएका यहाँका महिलाहरू अब भने छाउगोठ भत्काउन अग्रसर भएको उपप्रमुख जोशीले बताइन् । छाउपडी प्रथा नभई यो कुप्रथा भएकाले यस कुरीतिलाई पखाल्न जरुरी रहेको उनको भनाइ छ ।
वडा नम्बर १० का अध्यक्ष रतनसिंह विष्टले दलित, जनजातिको बसोबास रहेको यस दुर्गम बस्ती चतहरीमा छाउगोठसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । सदरमुकामभन्दा टाढा शुक्लाफाँटा निकुञ्ज क्षेत्रसँग जोडिएको यस बस्तीका महिलाहरू छुट्टै छाउगोठमा बस्दै आएका थिए । तर अहिले जनचेतनासँगै छाउगोठसम्बन्धी अन्तरक्रिया गरिँदा महिलाहरूले छाउगोठमा नबस्ने प्रतिबद्धता जनाउँदा दुर्गमबाटै छाउगोठको निवारण जरुरी देखिएको अध्यक्ष विष्टले बताए ।
छाउगोठ भत्काउनेलाई खाट उपलब्ध गराइने
छाउगोठ भत्काएका परिवारलाई वेदकोट नगरपालिकाले खाट उपलब्ध गराउने भएको छ । वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाउगोठ भत्काएर कुप्रथा हटाउन अग्रसर भएका महिलाहरूलाई खाट उपलब्ध गराइने बताएका हुन् । छाउगोठ सामाजिक कुप्रथा भएको र यसले महिलाहरूलाई झन् पीडामा पार्ने काम गरेको नगर प्रमुख बोहराले बताए ।
वडा नम्बर १० मा २४ परिवारले छाउगोठ भत्काएर महिनावारी भएका बेला सुत्नलाई समस्या हुने बताएपछि नगर प्रमुख बोहराले खाट उपलब्ध गराइने प्रतिबद्धता जनाएका हुन् । गत असार २८ गते छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईको सर्पले डसेर ज्यान गएपछि जिल्लाका सबै अन्य पालिकामा पनि छाउगोठ भत्काउन थालिएको हो । वेदकोट नगरपालिकामा अभियान नै चलाएर छाउगोठ भत्काइँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्