घाइते ६ जना कैदीबन्दीको शल्यक्रिया



कैलाली ।

कैलाली जिल्ला कारागारमा भएको झडपमा परी घाइते भएकामध्ये छ जना कैदीबन्दीको शल्यक्रिया गरिएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररतमध्ये हातखुट्टा भाँचिएका, हाडजोर्नी तथा टाउकोमा चोट लागेका बिरामीको शल्यक्रिया गरिएको हो । हात, खुट्टा भाँचिएका तथा हाडजोर्नी अलग भएका पाँच जना र टाउकोमा गम्भीर चोट लागेका एक जनाको शल्यक्रिया गर्नुपरेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टले जानकारी दिए ।

टाउको गम्भीर चोट लागेर शल्यक्रिया गर्नुपरेका एक जना कैदीबन्दी कारागारमा बिहीबार भएको झडपका घाइते हुन् । कारागारभित्र शुक्रबार राति भएको हिंसात्सक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । शल्यक्रिया गरिएका र उपचाररत अन्य घाइते कैदीबन्दीको अवस्था खतरामुक्त रहेको डा. भट्टले जानकारी दिए । ‘उपचाररत सबै घाइतको अवस्था खतरामुक्त छ,’ डा. भट्टले भने, ‘सामान्य घाइते केही कैदीबन्दीलाई छिट्टै डिस्चार्ज गर्ने तयारी छ ।’

कैलाली कारागारभित्र बन्दीगृहको ब्लक ‘ए’का कैदीबन्दीले ब्लक ‘बी’का कैदीबन्दीमाथि शुक्रबार मध्यराति आक्रमण गरेका थिए । सुतिरहेका कैदीबन्दीमाथि चक्कु, गडसा, इँटा, जिम गर्ने सामान आदिले अन्धाधुन्ध आक्रमण गरिएको थियो । घटनामा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो ।

गम्भीर घाइते आयुष भट्टलाई नेपाली सेनाको स्काइ ट्रकबाट शनिबार बेलुकी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । प्रहरीका अनुसार दुवै खुट्टामा गम्भीर चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अर्का घाइते कर्ण सलामीमगरलाई पनि नियमित उडानबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

उनको बाँया हात भाँचिनुका साथै खुट्टाको नशा काटिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना संक्रमित राख्नका लागि बनाइएको भवनमा राखेर उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार